झापा । झापा जिल्लामा खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका डोमालाल राजवंशीको योगदानको कदर गर्दै अर्धकदको सालिक सातौं झापा गोल्डकप उद्धघाटनका अवसर पारेर अनावरण गरिने भएको छ । खेलकुद क्षेत्रको विकासका लागि राजवंशीले उपलव्ध गराएको डोमालाल राजवंशी रंगशालामै जग्गादाता राजवंशीको अर्धकदको सालिक यही माघ २४ गते अनावरण गरिने जनाइएको हो ।
करिब दुई वर्ष नै तयार पारेर जग्गादाता राजवंशीको सालिक गोल्डकप सचिवालयमा राखिदै आएकोमा सातौं झापा गोल्डकप उद्धघाटनका दिन यही माघ २४ गते अनावरण गर्ने भएको गोल्डकप आयोजकले जनाएका हुन । तत्कालीन झापा गोल्डकपका अध्यक्ष स्वर्गीय विनोद बस्नेतको पहलमा भारतमा निर्माण गराई ल्याइएको सालिक बस्नेतको निधनपछि स्थापित हुन नसकी अलपत्र अवस्थामा रहदै आएको थियो ।
जग्गादाताको सालिक स्थापना र जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीको आवास निर्माणसम्बन्धी योजना अघि नबढ्दा राजवंशी समुदायले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। सोही विषयलाई लिएर सोमबार झापा गोल्डकप समितिका पदाधिकारी, सञ्चारकर्मी तथा राजवंशी समुदायका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा सोही विषयलाई लिएर हिजो गोल्डकपका अध्यक्ष केदार गिरी , वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी , मोरङका जिल्ला सचिव रुपेश राजवंशी सहभागी थिए ।
छलफलमा जग्गा विवादका कारण रंगशाला स्थानान्तरणको सम्भावना रहेकाले स्थायी संरचना तत्काल बनाउन कठिन भएको निष्कर्ष निकालिएको छ । त्यसैले हालका लागि अस्थायी रूपमा सालिक अनावरण गरी समुदायको भावनालाई सम्बोधन गर्ने सहमति भएको बताइएको छ । सालिक उद्घाटन समारोहको मञ्च अगाडिपट्टि राखिनेछ ।
गोल्डकप अध्यक्ष केदार गिरीले जग्गाको टुंगो लागेपछि सालिकलाई स्थायी र दीगो रूपमा पुनःस्थापना गरिने जानकारी दिए । उनले अस्थायी रूपमा राख्दा पछि भत्काउनुपर्ने अवस्था नआओस् भन्ने चिन्ताका कारण यसअघि सालिक स्थापना ढिलाइ भएको स्पष्ट पारेका थिए ।
त्यस्तै, पूर्व अध्यक्ष स्वर्गीय बस्नेतको योजनाअनुसार गोल्डकप सकिएपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर निर्माण कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले बताए । बस्नेतले सामाजिक सञ्जालमार्फत सुरु गरेको आर्थिक संकलन अभियानलाई निरन्तरता दिने तयारी गरिएको छ । आर्थिक विपन्नताका कारण जग्गादाता राजवंशीकी छोरीको घर वनाउन सहयोग जुटाउन लागिएको हो ।
जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए । बस्नेतकै पहलमा छैटौ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियोे ।
यस वर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।
डोमालाल राजवंशीले रंगशाला निर्माणका लागि करिब १३ बिघा जग्गा दान दिएका थिए । हाल उनकी छोरी सम्पत्ति तथा नातिहरू भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रोमा बसोबास गर्दै मजदुरी गरेर जीवनयापन गरिरहेका छन् ।
आयोजकका अनुसार दाताको योगदान र परिवारको पीडालाई केन्द्रमा राखेर मानवीय दायित्व पूरा गर्ने प्रयास जारी रहनेछ ।
प्रतिक्रिया