एमालेका युवा नेता अर्जुन मैनालीद्वारा पार्टी परित्याग, रास्वपामा प्रवेश

मंगलबार, २० माघ २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छाड्ने नेताहरूको सङ्ख्या बढ्दै गएको छ । झापा क्षेत्र नम्बर–५ मा देखिएको राजनीतिक हलचलबिच एमालेका युवा नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ खुलेर देखिन थालेका छन् ।

नेकपा एमालेका युवा नेता तथा बिर्तामोड उद्योग वाणिज्य सङ्घका निवर्तमान महासचिव अर्जुन मैनालीले एमाले परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन् । 

मैनालीले सामाजिक सञ्जालमार्फत रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ तथा स्थानीय नेताहरूसँगको तस्बिर सार्वजनिक गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले सार्वजनिक गरेको वक्तव्यमा २०८२ साल माघ २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गर्दै एमालेमा रहँदा सहयोग गर्ने नेतागण, सहयात्री तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । साथै, आजकै मितिदेखि आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको जानकारी दिँदै ‘जय घण्टी’ उल्लेखसहित नयाँ राजनीतिक यात्राको औपचारिक घोषणा गरेका छन् ।

एमालेबाट रास्वपामा मैनालीको प्रवेशलाई बिर्तामोडको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय युवापुस्ताको आकर्षण रास्वपा तर्फ बढिरहेको देखिएको छ । 

यसैबिच नेपाली काँग्रेसका जिल्ला सदस्य बलराम कार्कीले पनि पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहेका कार्कीले कांग्रेस पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको र आजकै मितिदेखि साधारण सदस्यसमेत नरहेको घोषणा गरेका हुन् ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला झापामा एमाले र काँग्रेसका प्रभावशाली नेताहरू रास्वपा तर्फ प्रवेश गर्ने क्रम बढ्दै गएको छ । सोमवार साँझ झापा आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहलाई भेट्नेको लर्को लाग्न थालेको छ भने समर्थकहरूले भावी प्रधानमन्त्रीको रूपमा शुभकामना दिइरहेका दृश्यसमेत देखिन थालेका छन् ।

स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको पार्टी परिवर्तनसँगै झापाको चुनावी सरगर्मी थप चर्किएको छ ।

काँग्रेसले बलराम कार्कीलाई साधारण सदस्यताबाट निलम्बन ग¥यो

नेपाली काँग्रेसले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा आफ्ना क्रियाशील सदस्य बलराम कार्कीलाई साधारण सदस्यताबाट निलम्बन गरेको छ । 

कांग्रेस बिर्तामोड नगर समितिका अनुसार बिर्तामोड–१ निवासी कार्कीले पार्टीको विधान, नीति तथा अनुशासन विपरीत गतिविधि गरेको पुष्टि भएपछि विधानबमोजिम कारबाही गरिएको नगर सभापति भोजराज सिटौलाले जनाएका छन् । उनलाई आज  माघ २० गतेदेखि लागू हुने गरी साधारण सदस्यताबाट निलम्बन गरिएको सिटौलाले उल्लेख गरेका छन् । पछिल्लो समय स्थानीय राजनीतिक गतिविधिमा उनको भूमिकालाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको बुझिएको छ । 

काँग्रेसले पार्टी अनुशासन सबै सदस्यका लागि अनिवार्य रहेको उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ विधान कार्यान्वयन गरिने सभापति सिटौलाले बताए । 

WhatsApp Image 2026-02-03 at 2.26.06 PM

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार