पोखरा : पेस्तोल देखाएर महिलालाई लुटपाट गर्ने एक युवक पोखरामा स्थानीयको सहयोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन बिक रहेका छन्।
पोखरा–१२ शीतलादेवीकी देवीकला अधिकारी साँझ साढे ८ बजे आफ्नो घरको गेटभित्र प्रवेश गर्न लाग्दा विकले अचानक आक्रमण गरी सुनका गरगहना लुटेका थिए।
अधिकारीले लगाइरहेकी करिब तीन तोलाको सुनको सिक्री र कानका रिङ लुटेर भाग्ने क्रममा स्थानीय बासिन्दाले उनलाई नियन्त्रणमा लिएका थिए।
लुटपाटका क्रममा विकले पेस्तोल देखाएर डर धम्की दिएका थिए। अधिकारीका श्रीमानले घटनाको प्रत्यक्षदर्शी बने पनि पेस्तोल देखेपछि गाडीभित्रै अड्किएका थिए। त्यस्तै, साथमा रहेकी छोरी पनि डरले घरभित्र पसेकी थिइन्।
देवीकला अधिकारीले आफू माथि आक्रमण गर्ने लुटेरासँग केही बेर सङ्घर्षसमेत गरेकी थिइन्। लुटपाटका क्रममा उनको अनुहार, हात र खुट्टा चिप्लिएर घाइते भएको बताइएको छ। उपचारपछि उनी घर फर्किएकी छन्।
घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले विकलाई पछ्याउँदै पक्राउ गरेको जनाएको छ। पक्राउ गर्दा उनीसँग एक थान नक्कली पेस्तोल र ग–१३–प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार, बिक मूलतः पर्वतको मोदी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। हाल उनी पोखरा–२० भलाममा बस्दै आएका थिए।
प्रहरीले लुटपाटमा प्रयोग भएको मोटरसाइकल र बरामद गहना परीक्षणमा राखेको छ भने घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ।
प्रतिक्रिया