विराटनगर: माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा ‘नानी बाई रो मायरो’ शीर्षकमा तीनदिने भव्य धार्मिक कथा–प्रवचन उत्सव आयोजना हुने भएको छ।
कार्यक्रममा गोवत्स श्रीबिठ्ठलजी महाराजले रसिलो कथा वाचन, भजन–कीर्तन तथा मारवाडी भाषामा आध्यात्मिक प्रवचन प्रस्तुत गर्ने आयोजकले जानकारी दिएका छन्।
‘नानी बाई रो मायरो’ राजस्थानको मारवाड क्षेत्रसँग सम्बन्धित प्रसिद्ध लोक–भक्ति कथामा आधारित छ। यो कथा नानी बाई नामकी भक्त र भगवान श्रीकृष्णप्रतिको उनको अटुट श्रद्धा, विश्वास र समर्पण वरिपरि केन्द्रित रहेको छ।
कथाअनुसार नानी बाई आर्थिक रूपमा कमजोर भए पनि परम कृष्णभक्त थिइन्। सामाजिक र पारिवारिक कठिन परिस्थितिमा माइती पक्षबाट सहयोग आवश्यक परेपछि, मानवीय सहायताको सम्भावना नदेखिँदा उनले पूर्ण रूपमा भगवान श्रीकृष्णमा भरोसा राखिन्। नारी भक्ति, विश्वास र समर्पणको अनुपम उदाहरणका रूपमा ‘नानी बाई रो मायरो’ कथा लिइन्छ।
आयोजकका अनुसार कथा–प्रवचन सुरु हुनु अघि मंगलबार बिहान विराटनगरमा भव्य शोभायात्रा निकालिने छ। कथा प्रवचन मंगलबारदेखि बिहीबारसम्म हरेक दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा सञ्चालन हुने मन्चकी अध्यक्ष ललिता जाजुले बताईन ।
प्रतिक्रिया