नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

मंगलबार, २८ असोज २०८२

काठमाडौँ : अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आइएमएफले आज ‘वल्र्ड एकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव सात प्रतिशत रहेको थियो । यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर चार दशमलव तीन प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ । 

यस्तै, नेपालले सन् २०२६ मा पाँच दशमलव दुई र सन् २०३० मा पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा चार दशमलव एक र २०२६ मा चार दशमलव दुई प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ । 

आइएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ । सन् २०२४ मा तीन दशमलव तीन प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा तीन दशमलव दुई र २०२६ मा तीन दशमलव एक प्रतिशत रहने अनुमान गरिएको हो ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार