केन्द्रले तोकेको मापदण्ड र संख्या विपरित नेपाली काँग्रेस सुनसरीको उम्मेदवार सिफारिस

विहीबार, २५ मंसिर २०८२
नेपाली काँग्रेस सुनसरीको बैठक

इनरुवा : आसन्न प्रतिनिधि सभा लगायतका निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार सिफारिस गर्ने कार्यमा केन्द्रले तोकेको मापदण्ड पालना नगरि उम्मेदवार सिफारिस गरिएको पाइएको छ ।

सुनसरीमा समेत केन्द्रले तोकेको मापदण्ड पुरा नगरि उम्मेदवार सिफारिस गरेको पाइएको छ । 

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयबाट मातहतलाई गत मंसिर १५ र १७ गते पठाएको उम्मेवार सिफारिस मापदण्ड पुरा नगरि सुनसरीमा पनि क्षेत्रीय समितिहरुले उम्मेदवारको नामावली जिल्लालाई पठाएका हुन । 

केन्द्रले पठाएको मापदण्डमा प्रत्यक्ष तर्फ एक सिटीका लागि एक जना महिला सहित तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।

समानुपातिक तर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिला सहित दुई जना र राष्ट्रिय सभाका लागि जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूचि माग गरी  प्राप्त नाम मध्येबाट एक सिटका लागि महिला सहित तीन जनाको नाम सिफारिस गर्न भनिएको छ । त्यसै गरी केन्द्रले २०७९को स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुलाई समेत उम्मेदवार सिफारिस नगर्न भनेको छ । 


केन्द्रले पुनः तोकिएको मापदण्ड र संख्यामा मात्र उम्मेदवारहरुको नाम सिफारिस गर्नु भन्दै परिपत्र गरेको छ । यता केन्द्रको परिपत्रको वेवास्था गर्दै नेपाली काँग्रेस सुनसरीका विभिन्न क्षेत्रीय समितिहरुले तोकिएको मापदण्ड विपरित उम्मेदवार सिफारिस गरेका छन ।

सुनसरीमा प्रत्यक्ष तर्फ एक महिला सहित बढीमा तीन जनाको नाम सिफारिस गर्न भनिएकामा क्षेत्र नम्बर १ ले ८ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ , ३ र ४ ले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ महिला विहीन नामावली जिल्लामा सिफारिसका लागि पठाएको छ । 

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्धय राजिव कोइराला , राजिव ढुंगाना र सिताराम महतोको नाम जिल्लालाई पठाएको छ ।

क्षेत्र नम्बर ३ ले पनि पुर्व केन्द्रीय उपाध्यक्ष विजयकुमार गच्छदार सहित तीन जना पुरुषको नाम सिफारिस गरेको छ । यता क्षेत्र नम्बर ४ ले पनि प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य ज्ञानेन्द्र वहादुर कार्की सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले जिल्लालाई सिफारिस पठाएकोमा समानुपातिक र राष्ट्रिय सभाका लागि पनि केन्द्रले पठाएको मापदण्ड विपरित नामावली रहेका छन । 

काँग्रेसको जिल्ला कार्य समिति सुनसरीले क्षेत्रीय समितिले सिफारिस गरेका नामहरुलाई नै केन्द्र तर्फ प्रदेश समितिमा पठाउने निर्णय गरेको जनाइएको छ ।

जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको जिल्ला कार्य समितिको बैठकले क्षेत्रीय समितिहरुले पठाएको सिफारिसलाई नै जिल्लाले प्रदेश तथा केन्द्रमा पठाउने निर्णय गरिएको जिल्ला सचिव विरेन्द्रकुमार शाहले जानकारी दिए ।

केन्द्रले पठाएको मापदण्ड पुरा नगरी उम्मेदवार सिफारिस गरिएको विषयमा सचिव शाहले आगामी निर्वाचन र पार्टीको महाधिवेशन समेत आइरहेकाले साथीहरुमा मनमोटाव नहोस भनेर क्षेत्रीय समितिले पठाएका नामावली नै सिफारिस गर्ने निर्णय गरिएको समेत वताए । 

सुनसरीमा पनि काँग्रेसले केन्द्रले तोकेका मापदण्ड र संख्या विपरित उम्मेदवार सिफारिस गरिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार