बुढासुब्बा गोल्डकप: झापा–११ सेमिफाइनलमा प्रवेश

मंगलबार, २७ माघ २०८२

धरान : झापा–११ एफसीले २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबार धरानस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा–११ ले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफको १६औँ मिनेटमा झापा–११ का राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १३औँ मिनेटमा सातदोबाटो युथ क्लबका बविरोसले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

तर खेलको ४८औँ मिनेटमा झापा–११ का एरोन थापाले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

आजको खेलमा निर्णायक गोलकर्ता एरोन थापा ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको प्रतियोगिताका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत भोलि बुधबार लालिगुराँस फुटबल क्लब र प्लानिङ ब्वाइजबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिनेछ।

त्यस्तै, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार