सामाजिक सञ्जालको झूटो रोजगारी : बर्मामा ५ सयबढी नेपाली बन्धक

विहीबार, २५ मंसिर २०८२

काठमाडौँ : वैदेशिक रोजगारीको प्रलोभनमा परेर म्यानमार (बर्मा)का अवैध स्क्यामिङ सेन्टरमा काम गर्न बाध्य बनाइएका ४७ नेपालीलाई बुधवार एकैदिन उद्धार गरी स्वदेश फर्काइएको छ। म्यानमारको म्यावडीस्थित विद्रोहीहरूको नियन्त्रण क्षेत्रभित्र राखी नेपालीहरूलाई जबरजस्ती अनलाइन स्क्यामिङमा लगाइने गरेको पीडितहरूले बताएका छन्।

स्क्यामरको कब्जाबाट एकैदिन ४७ जनाको उद्धार

नेपाली तथा हिन्दी भाषा जान्ने भएकाले नेपाल, भारत र पाकिस्तानका नागरिकलाई लक्षित गरेर स्क्याम गराउन स्क्याम समूहले नेपालीहरूलाई प्राथमिकताका साथ प्रयोग गर्ने गरेको उद्धार भएकाहरूको भनाइ छ। अझै पनि म्यावडीका विभिन्न क्षेत्रमा ५ सयभन्दा बढी नेपाली बन्धक बनाइएका अनुमान दूतावासले गरेको छ। उनीहरूलाई लोभ, मानसिक दबाब र शारीरिक यातनाबाट त्रसित पारेर स्क्यामिङमा लगाइने गरेको जानकारी आएका छन्।

युवादेखि महिलासम्म पीडित

उद्धार भएकामध्ये ४५ पुरुष र २ महिला छन्। उनीहरू २६ जिल्लाका बासिन्दा हुन्—झापाका ५ जना; धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३–३ जना; दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २–२ जना तथा चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमबाट १–१ जना।

उमेर समूहमा १७ वर्षीय एक किशोरदेखि ४१ वर्षीय व्यक्तिसम्म रहेका छन्। २०–२५ वर्ष उमेरका २६ जना, २६–३० वर्षका १० जना र ३१–३५ वर्षका ८ जना छन्। धेरैजसो कक्षा १२ पास भएका वा सूचना–प्रविधि विषयमा अध्ययन गरेका युवा रहेका दूतावासले जनाएको छ।

सिफारिसमार्फत ‘जालो’मा फस्दै

पीडितका कथनअनुसार उनीहरूलाई इन्टरनेट गेमका साथी, सामाजिक सञ्जाल, चिनजानका व्यक्तिहरू वा विज्ञापनमार्फत ‘उच्च तलब’को प्रलोभन देखाइन्थ्यो। कतिपय भारत वा दुबईमा बसाइसराइका क्रममा भेटिएकै साथीमार्फत म्यानमार पुगेका छन्।

एक उद्धार भएकाले भने, “अनलाइन, टेलिग्राम, ह्वाट्सएप वा टिकटकमार्फत ‘काठमाडौँमै बसेर लाखभन्दा बढी तलब’को जागिरको प्रस्ताव आइरहन्थ्यो।” त्यसपछि उनीहरूलाई भ्रमण, कल–सेन्टर, कम्प्युटर अपरेटर जस्ता सामान्य कामका नाममा सीमावर्ती क्षेत्र हुँदै म्यानमार पुर्‍याइने गरेको छ।

कठोर दण्ड, बन्धक र शोषण

स्क्यामिङ केन्द्रमा लगेपछि सुरुवाती दिनमा सामान्य वातावरण देखाइए पनि केही दिनमै ‘टार्गेट’ पुरा गर्न कडा दबाब दिइन्थ्यो। लक्ष्य अपुग भए मनोवैज्ञानिक र शारीरिक यातना, घरपरिवारसँग सम्पर्क बन्द गराई ‘फिरौती’ माग्ने, जेल र हत्या गर्ने धम्कीसम्म दिने गरिएको अनुभव पीडितहरूले सुनाएका छन्। काम छोड्न चाहे अर्को व्यक्तिलाई भर्ना नगरुन्जेल छुट्टी नदिने क्रूर व्यवहार पनि भोग्नुपरेको बताइन्छ।

थाइल्यान्डमार्फत उद्धार प्रक्रिया

थाइल्यान्ड सरकारले तयार पारेको ‘स्ट्यान्ड अपरेटिङ प्रोसिजर’अनुसार नै नेपालीको उद्धार गरिएको दूतावासले जनाएको छ।

म्यानमारको सुरक्षातर्फबाट विदेशी नागरिकको विवरण सम्बन्धित देशका दूतावासलाई पठाइएपछि थाइल्यान्डको परराष्ट्र मन्त्रालय, टाक प्रान्त र माई–सोट अध्यागमन कार्यालयसँग समन्वय गरी स्वदेश फिर्ती प्रक्रिया अघि बढाइन्छ।
राहदानी नभएकालाई दूतावासले ‘वन–वे ट्राभल डकुमेन्ट’ उपलब्ध गराएको थियो। थाइल्यान्ड आइपुगेपछि स्वास्थ्य जाँच, मानव बेचबिखन जोखिम मूल्याङ्कन तथा अध्यागमन प्रक्रिया पुरा गरेर नेपाल पठाइएको हो।

विगतमा पनि सयौँको उद्धार

कम्बोडिया, लाओस्, थाइल्यान्ड–म्यानमार सीमामा फैलिएको अनलाइन स्क्यामिङ उद्योगले पछिल्ला वर्षमा थुप्रै नेपालीलाई फसाएको छ। नेपालले २३ साउन २०८० देखि नै ‘यात्रा सचेतना’ जारी गर्दै यस्ता प्रलोभनमा नपर्न आग्रह गर्दै आएको छ। सोही अवधिदेखि दूतावासले २०८०–८१ मा ६८ जना, २०८१–८२ मा १५६ जना र चालू आवमा अहिलेसम्म १४१ जना नेपालीलाई उद्धार गरिसकेको छ।

दूतावासले पुनः आग्रह गर्दै चेतावनी दिएको छ–सामाजिक सञ्जाल वा चिनजानका व्यक्तिबाट आउने आकर्षक रोजगारी प्रस्तावको यथार्थता पुष्टि नगरी यात्रा नगर्न, र विदेश जानु अघि नेपाल सरकारको आधिकारिक श्रम स्वीकृति अनिवार्य लिनपर्नेछ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार