सिराहा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको वर्तमान राजनीतिक माहोलले आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गरिसकेको दाबी गरेका छन् ।
सिराहाको धनगढीमाइ नगरपालिका–बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यहाँ देखिएको उत्साह र जनसमर्थनले कांग्रेसले चुनाव जित्ने स्पष्ट संकेत दिएको बताए ।
“मलाई तपाईंहरूले विश्वास गरेर यहाँ बोलाउनुभयो,” उहाँले भन्नुभयो, “यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु । जिताएर पठाउनुहुन अनुरोध छ ।”
थापाले आफूहरूले अपेक्षा गरेको निर्वाचन दुई वर्षपछि भए पनि अब कुनै पनि हालतमा चुनावबाट पछि फर्कन नमिल्ने स्पष्ट पारे । जेन–जी पुस्ताको विद्रोह र सुशासनको मागकै कारण निर्वाचन चाँडै सम्भव भएको उनको भनाइ छ ।
“हामीले त चुनाव दुई वर्षपछि आउला भन्ने सोचेका थियौँ,” थापाले भने, “तर जेन–जीहरूले विद्रोह गरे, सुशासन खोज्न थाले, त्यसैले चुनाव चाँडै आयो । कांग्रेसले यसलाई स्वागत गरेको छ । हामी नयाँ नेतृत्व छान्न तयार छौँ । भोट तपाईंहरूको हातमा छ, जिताउनुहुन्छ भन्ने विश्वास छ ।”
सभापति थापाले मधेस केन्द्रित चुनावी अभियानअन्तर्गत सप्तरीको हनुमाननगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा पनि सम्बोधन गरेका छन् ।
यसअघि मंगलबार थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत झुम्कामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया