इटहरी : जेनजी आन्दोलनका क्रममा इटहरीमा भएको अव्यवस्थाको असर अझै देखिन थालेको छ। आन्दोलनकै बेला प्रहरीबाट लुटिएका गोली फेला परेपछि सुरक्षा संयन्त्र थप सतर्क बनेको छ।
प्रहरीका अनुसार इटहरी–१० निवासी टिकाराम श्रेष्ठलाई तीन राउण्ड गोलीसहित पक्राउ गरिएको छ। उनको साथबाट एसएलआरमा लाग्ने २ र थ्रिनटथ्री राइफलमा लाग्ने १ राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको मोबाइल फोन चोरी भएको घटनाको अनुसन्धानका सिलसिलामा श्रेष्ठको घरमा गरिएको खानतलासीका क्रममा मोबाइल सेटसहित गोली फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार बरामद गोली जेनजी आन्दोलनका क्रममा इटहरी प्रहरीले गुमाएको (लुटिएको) गोली भएको पुष्टि भएको छ।
प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि हातहतियार तथा खरखजना मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद गोली कसरी उनको घरसम्म पुग्यो र यसमा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यसैबीच, जेनजी आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षबाट फरार भएका ३५ जनामध्ये हालसम्म २२ जना पक्राउ परिसकेको प्रहरीले जानकारी दिएको छ। बाँकी फरारको खोजी तीव्र पारिएको जनाउँदै प्रहरीले आन्दोलनका क्रममा भएका सबै आपराधिक घटनाको निष्कर्षसम्म पुग्ने दाबी गरेको छ।
प्रतिक्रिया