काठमाडौं। जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले उच्च पदस्थ व्यक्तिहरुलाई बयानका लागि बोलाउन थालेको छ।
आयोगको म्याद सकिन लाग्दा उच्च पदस्थ व्यक्तिहरुलाई बयानमा बोलाउन थालेको हो। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले शुक्रबार (आज) प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको छ। बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरुलाई आज पनि बोलाउने तयारी छ।
पूर्वगृहसचिव गोकर्णमणी दुवाडी र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर यसअघि काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको थियो। मुख्यसचिवले भने बयान दिइसकेका छन्।
सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले पनि बयान दिइसकेका छन्। नेपाल प्रहरीको ओम राना, सशस्त्र प्रहरीका एसएसपी राजेश उप्रेति तथा काठमाडौ परिसरका तत्कालीन एसएसपी विश्व अधिकारीले पनि बयान दिइसकेका छन्। सेनाले बयानका लागि कसैलाई पनि नपठाउने भएको छ भने सशस्त्र प्रहरीले पनि आइजीपी आफै उपस्थित भएपछि तलका कर्मचारीलाई जान नपर्ने जनाएको छ।
जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको र कमाण्ड सम्हालेको अवस्थामा आयोगले बयान लिन बोलाएको हो। घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गते प्रहरी महानिरीक्षक छन्।
यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। उनीहरूको बयान अर्को साता गर्ने तयारी रहे पनि आयोगले अहिलेसम्म दुवै जनालाई पत्र भने पठाइसकेको छैन।
यससँगै आयोग प्रतिवेदनलाई अन्तिम रुप दिनतर्फ लाग्नेछ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ।
आयोगले प्रतिवेदन बनाउन ढिलाई गरेमा वा बयान नसकिएमा आयोग म्याद थप गर्ने तयारी समेत भएको छ । तत्कालिन गृहमन्त्री रमेश लेखकले आयोगमा बयान दिन जाने बताइसकेका छन् भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले नजाने बताएका छन्।
प्रतिक्रिया