काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न दबाब बढ्दै गएको छ ।
जेन्जी आन्दोलनपछि सबै दलहरूमा पुस्तान्तरणको माग तीव्र भइरहेका बेला एमाले नेताहरूले पनि ओलीलाई पद छाड्न आग्रह गरेका छन् ।
भक्तपुरको गुन्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापासहितका नेताहरूले पार्टी महाधिवेशन चाँडै गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।
उनीहरूले जेन्जी आन्दोलनपछि पार्टी र नेतृत्व दुवैप्रति नैतिक प्रश्न उठेकाले आत्मालोचना र पुनर्गठन आवश्यक भएको बताएका थिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले बदलिँदो परिस्थितिमा पुरानो सोचले काम नगर्ने भन्दै पार्टीलाई विचार, नेतृत्व र कार्यशैलीका दृष्टिले पुनर्गठन गर्नुपर्ने बताए ।
उपाध्यक्ष ज्ञवाली र शाक्यले ७० वर्ष पुगेका नेताले स्वेच्छाले पद छाड्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।
ज्ञवालीले सामाजिक सञ्जाल बन्द गर्दा भएको जनआक्रोश र त्यसक्रममा युवामाथि भएको गोलीकाण्डले सरकार असफल भएको भन्दै प्रधानमन्त्री र पार्टी नेतृत्व दुवैले जिम्मेवारी लिनुपर्ने बताए ।
शाक्यले नेतृत्वको सम्मानपूर्वक बहिर्गमनको बाटो खुलाउनुपर्नेमा जोड दिइन् ।
पौडेल र पाण्डेले पनि बदलिएको राजनीतिक सन्दर्भमा पार्टी र नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याए ।
तर, उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली भने संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको पक्षमा उभिए ।
प्रदीप ज्ञवालीले महाधिवेशनले पुस्तान्तरण र नेतृत्वको विषयमा अन्तिम निर्णय गर्ने बताए ।
बैठकको सुरुवातमै ओलीले अझै पनि पार्टीलाई संकटबाट निकाल्न आफ्नो भूमिका आवश्यक रहेको बताएका थिए, जसले उनी नेतृत्व छाड्ने मनस्थितिमा नरहेको संकेत गर्छ ।
गत विधान महाधिवेशनमा एउटै पदमा दुई कार्यकाल र ७० वर्षको उमेर सीमा हटाइएपछि ओलीलाई तेस्रो कार्यकालको बाटो खुलेको थियो ।
अब कात्तिक पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे अन्तिम निर्णय गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया