विराटनगर – मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ।
अंशुको हत्या गरेको आरोपमा छिमेकी, अनुमानित ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। हत्यामा पदमकै संलग्नता रहेको यकिन भएको प्रहरी स्रोतले बताएको छ। यद्यपि, प्रहरी अधिकारीहरूले आधिकारिक पुष्टि अझै गरिसकेका छैनन्।
प्रहरी स्रोतका अनुसार पदम आफैँले अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन्। असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको शव कात्तिक ७ गते फेला परेको थियो। बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको, क्षतविक्षत एवं सडेर दुर्गन्धित अवस्थामा शव भेटिएको थियो।
घरबाट हराएकै दिन अंशुको हत्या भएको र पछि बीभत्स अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। यद्यपि, बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्ने कुरा यकिन भइसकेको छैन।
पदमले हत्या गर्नुपर्ने कारण तथा कसरी हत्या गरियो भन्नेबारे पनि प्रहरीले खुलाएको छैन। तर, अभिभावकसँगको पुरानो रिस–रञ्जिसम्बन्धी कारणले नियोजित हिसाबले हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।
‘हालसम्मको अनुसन्धानबाट हत्यामा पदम एक्लै संलग्न देखिएका छन्। विस्तृत अनुसन्धानबाट थप कुरा खुल्दै जानेछ। पदममाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भने। प्रहरीले लामो समय मिहिनेत गरेर अंशुको हत्यामा संलग्नको पहिचान गर्न सकेको हो।
‘अंशुको हत्यापछि अनुसन्धानमा अनेक जटिलता आएका थिए। शव सडेको अवस्थामा भेटिएकोले घटनाको निष्कर्षमा पुग्न कठिन भएको थियो। तर, निक्कै मिहिनेत गरेकाले हत्यामा संलग्नसम्म पुग्न सकियो,’ प्रहरीले भन्यो। उनका अनुसार शव कुहिँदा धेरै प्रमाणहरू नष्ट भएका कारण यो घटना प्रहरीका लागि चुनौतीपूर्ण बनेको थियो।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत खटिएको थियो। विभिन्न कार्यालयबाट खटिएको संयुक्त टोलीले अन्ततः हत्यामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन सफल भएको हो।
घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितका प्रहरी अधिकारीहरू खटिएका थिए। एसपी कटवालले घटना अझै अनुसन्धानकै क्रममा रहेको र केही व्यक्तिमाथि सोधपुछ भइरहेको बताए। ‘घटना यही व्यक्तिले गराएको हो भनेर अन्तिम निष्कर्षमा पुग्न बाँकी छ। थप अनुसन्धान भइरहेको छ। सबै कुरा यकिन भएपछि सार्वजनिक गर्नेछौँ,’ उनले भने।
घटना अत्यन्त संवेदनशील रहेको कटवालले बताए। ‘पोस्टमार्टम रिपोर्ट, डिएनए परीक्षण, फरेन्सिक अनुसन्धानलगायतबाट विस्तृत अनुसन्धान भइरहेको छ। यो जघन्य अपराध हो। थप प्रमाण जुटाउँदैछौं,’ उनले भने।
कटवालका अनुसार घटनासँग सम्बन्धित धेरै विषयहरू विस्तृत अनुसन्धानबाट खुल्दै जानेछन्। अंशुको बीभत्स एवं कुहिएको शव फेला परेको घटनास्थलमा ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको थियो। घटनास्थलका सङ्केतले बलात्कारपछि हत्या गरिएको हुन सक्ने देखाएको थियो, तर बलात्कारको पुष्टि भइसकेको छैन।
प्रहरीले डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरेर पठाएको थियो। डिएनए रिपोर्ट भने आउन बाँकी रहेको प्रहरी स्रोतले बतायो। अभिभावकले सनाखत गरिदिएपछि शव अंशुकै भएको पत्ता लागेको थियो।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। उनका बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए। घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या भएको ठम्याउन सकिने तिनको भनाइ छ। ‘अन्य विषय प्रहरी अनुसन्धानपछि पत्ता लाग्नेछ,’ तिम्सिना भन्छन्।
घटनास्थल वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण सङ्कलन तथा शङ्कास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गर्दै प्रहरी मुख्य अभियुक्तसम्म पुग्न सफल भएको हो। प्रहरीले अंशुका अभिभावकदेखि विद्यालयका शिक्षक, सहपाठी र छिमेकीलगायत अन्य धेरै व्यक्तिमाथि सोधपुछ एवं अनुसन्धान गरेको थियो।
प्रतिक्रिया