समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

आइतबार, २१ मंसिर २०८२

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन कार्यक्रम आज मङ्सिर २१ गतेदेखि सुरु हुँदै छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दलहरूले मङ्सिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन्। प्राप्त निवेदनहरूको अध्ययन गरी मङ्सिर २६ गतेसम्म स्वीकृति प्रदान गरिने उनले बताए।

त्यसैगरी, आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेश गर्ने समय तोकिएको छ। बन्द सूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवार हुने सुनिश्चित गर्नुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गरिने तालिका रहेको छ। प्रारम्भिक सूचीबारे दाबी, विरोध र उजुरीको छानबिनपछि माघ २० गते अन्तिम बन्द सूची प्रकाशन गरिनेछ।

विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्य दुई प्रणालीद्वारा चयन गरिन्छ: प्रत्यक्ष र समानुपातिक। प्रत्यक्षतर्फ १६५ सदस्य र बाँकी ११० सदस्य समानुपातिक प्रतिनिधित्वद्वारा चयन गरिने कानुनी व्यवस्था छ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते सुरु हुनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार