निर्वाचन आउन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

मंगलबार, ०१ पुस २०८२

काठमाडौँ : नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। यस्तै, ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्।

सामान्यतः निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ। संविधानप्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलहरूले सोहीअनुसार उम्मेदवार छनोट गर्ने गरिन्छ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिएर समानुपातिकतर्फ सहभागी नभएको देखिएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन्। उनीहरूका लागि ९३ वटा निर्वाचन चिह्न उपलब्ध गराइएको छ। यस्तै, प्रत्यक्षतर्फ कूल ११४ राजनीतिक दल दर्ता भएका छन्।

आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दलले र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिह्न लिई १२ राजनीतिक दलले दल दर्ता गराएका छन्।

आयोगका अनुसार प्रत्यक्ष मात्रै सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी छन्।

यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी छन्। यी राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने भएका छन्।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय दलहरूले भने अर्को दलको निर्वाचन चिह्नमा समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार