धनकुटाको ग्रामीण जनता माविमा दाता सम्मान, छात्रवृत्ति वितरण र शिक्षक बिदाइ कार्यक्रम सम्पन्न

शुक्रबार, २३ माघ २०८२

धनकुटा । सागुरीगढी गाउँपालिका ६ नाम्जे स्थित ग्रामीण जनता माध्यमिक विद्यालयमा दाता सम्मान, छात्रवृत्ति वितरण तथा शिक्षक बिदाइ कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र आर्थिक रूपले कमजोर तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको हो।

विद्यालयको विकास कोषका लागि मैतबहादुर मोक्तान र कमला मोक्तानले १ लाख ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् भने भीम घिमिरे, नवीन रिजाल, महेश जाजु र पवन सारडाले संयुक्त रूपमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेका छन्। यस्तै बेदबहादुर भुजेल र शिक्षक राजकुमार माङलाकले जनही २०–२० हजार रुपैयाँ सहयोग गरेका छन्। सहयोगदाताहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको प्रधानाध्यापक टङ्कबहादुर भुजेलले जानकारी दिए।

कार्यक्रममा विभिन्न अक्षयकोषमार्फत छात्रवृत्ति पनि वितरण गरिएको छ।  विद्यालयमा सञ्चालित १ लाख ११ हजार १ सय ११ रुपैयाँको शम्भु प्रसाद भण्डारी छात्रवृत्ति कोष, १ लाख ११ हजार १ सय ११ राशीको तुलसीराम–रमादेवी दिनेश छात्रवृत्ति अक्षयकोष तथा १ लाख ११ हजार १ सय ११ मैतबहादुर कमला तामाङ छात्रवृत्ति अक्षयकोषबाट बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको ग्रामीण जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर भूजेलले जानकारी दिए । 

विद्यालयमा सञ्चालित ६ लाख ५० हजार रुपैयाँको अक्षयकोषबाट हरेक वर्ष १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिँदै आएको विद्यालयले जनाएको छ।

साथै सागुरीगढी गाउँपालिका अध्यक्ष कोषबाट होटल म्यानेजमेन्ट अध्ययनरत ४ जना विद्यार्थीलाई जनही २० हजारका दरले ८० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

यसै अवसरमा विद्यालयमा लामो समयदेखि सेवा पुर्‍याएका पूर्व सहायक प्रधानाध्यापक लोकबहादुर कटवाल उच्च मावी संयोजक नरबहादुर चेम्जोङलाई बिदाइ तथा सम्मान गरिएको छ। साथै शिक्षामा योगदान पुर्‍याउने राधाकुमारी बरुवाल र विकास श्रेष्ठलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जितेन्द्र रुम्दाली राईले सामुदायिक विद्यालयको विकासमा स्थानीय दाताहरूको साथ सहयोग प्रेरणादायी भएको उल्लेख गर्दै भने, “विद्यालयको समृद्धि भनेकै समुदायको समृद्धि हो। यस्ता सहयोग र अक्षयकोषले गरिब तथा प्रतिभाशाली विद्यार्थीको भविष्य उज्यालो बनाउँछ। नाम्जेको शैक्षिक विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ।”

विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार