विराटनगर : मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले सासू–ससुरालाई विष मिसाइएको खाना खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
शनिबार दिउँसो वृद्ध दम्पती बेहोस अवस्थामा भेटिएपछि घटना सार्वजनिक भएको हो। भक्तबहादुर राई घर नजिकको खोल्सामा ढलेका अवस्थामा पाइए भने इन्द्रमाया घरभित्रै अचेत फेला परिन्। त्यही वरिपरि खोरमा रहेका ३ कुखुरा मरेको अवस्थामा भेटिएपछि विष प्रयोग भएको आशंका झनै प्रबल बनेको प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए।
अहिलेसम्मको अनुसन्धानले दम्पतीका भतिजो प्रशान राईकी श्रीमती ३२ वर्षीया सुनीता कार्कीले खानामा विष मिसाएको प्रारम्भिक प्रमाण देखिएको प्रहरीको दाबी छ। घटनापछि उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर आइतबार अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।
नोबेल शिक्षण अस्पतालमा उपचाररत इन्द्रमायाको मृत्यु भएको छ। भक्तबहादुरको अवस्था समेत गम्भीर रहेको र आईसीयूमै उपचार भइरहेको डीएसपी चौधरीले बताए।
घटनास्थलबाट प्रहरीले जलाइएको हालतमा विषादीको बट्टा बरामद गरेको छ । पोस्टमार्टम रिपोर्ट, प्रयोगशाला परीक्षण तथा फरेन्सिक विश्लेषणपछि मात्र विषको प्रकार र घटनाको पूर्ण यकिन हुने प्रहरीले जनाएको छ।
वृद्ध दम्पतीका आफ्ना सन्तान नभएकाले उनीहरू सँगै बस्ने भतिजा दम्पतीकै साथमा थिए। प्रशान राई घरबाहिर रहेका बेला सुनीताले खाना खुवाएको र त्यसपछि दम्पती ढलेको प्रहरीको प्रारम्भिक अध्ययनमा उल्लेख छ।
प्रतिक्रिया