इटहरी : नेपाली काँग्रेस इटहरीका पूर्वनगर सभापति वीरेन्द्र कार्कीले पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै फरक धारणा सार्वजनिक गरेका छन्।
प्रदेश खबरसँगको विशेष कुराकानीमा कार्कीले राष्ट्रिय स्तरमा नेतृत्व पाउने महत्त्वाकाङ्क्षा राख्ने धेरै नेता आजको संवेदनशील र समसामयिक विषयमा बोल्नै नसक्ने अवस्थामा पुगेको आरोप लगाए।
जेनजी आन्दोलनपछि काँग्रेसी नेताहरूलाई दिइँदै आएका ज्यानमार्ने धम्कीबारे काँग्रेसका महामन्त्रीद्वय मौन बस्नु ‘गम्भीर कमजोरी’ भएको कार्कीको आरोप छ।
उनका अनुसार, “पार्टी र देशलाई अप्ठ्यारो परेको बेलामा बोल्न नसक्ने नेताले देश बनाउने कल्पना गर्नु भ्रम मात्र हो।”
हालको अवस्थामा महाधिवेशन जटिल र छोटो तयारीको अवस्थामा भएकाले स्थानीय तहमा सर्वसम्मत बाटो रोज्नु आवश्यक रहेको कार्कीको सुझाव छ।
पछिल्लो समयमा व्यापक चर्चा बनेको ‘सात भाइ’ सम्बन्धी प्रसङ्गलाई उनले अनावश्यक रूपमा अघि सारिएको भन्दै रोष प्रकट गरे। पार्टी एउटा समूहबाट मात्र चल्न नसक्ने बताउँदै, सबैलाई उचित स्थान दिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
आगामी महाधिवेशनमा ‘भिजन’ प्रधान हुने भएकाले सभापतिका लागि उमेरलाई आधार बनाएर हदबन्दी गर्ने सोच गलत हुने कार्कीको भनाइ छ।
विचार र प्रवृत्तिलाई पन्छाएर पार्टी अघि बढ्न नसक्ने उल्लेख गर्दै, शेखर कोइरालालाई सभापति बनाउँदा सङ्गठनको समग्र संयोजन सम्भव हुने दाबी उनले गरे। युवाहरूले पनि यही यथार्थ बुझ्न आवश्यक रहेको उनको निष्कर्ष थियो।
प्रतिक्रिया