मोरङ : मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडा क्षेत्रमा प्रहरीको चेकजाँचका क्रममा ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाजा बरामद भएको छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शनिबार ट्रक रोकेर जाँच गर्दा गाजाको ठूलो लट फेला पारेको हो।
आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको उक्त ट्रकको डाला भित्र ‘फल्स डाला’ जोडी लुकाइ–छिपाई राखिएको अवस्थामा ६७८ केजी गाजा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले चालक समेल राई (धनकुटा, सहिदभूमि गाँउपालिका–२) र ट्रकका मालिक विक्रम विशुङ्खेलाई तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा थप अनुसन्धानका लागि ल्याइएको जनाएको छ।
बरामद गरिएको लागूऔषध, ट्रक तथा पक्राउ परेकाहरूबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया