काठमाडौँ : नेकपा (एमाले)को आसन्न ११औँ महाधिवेशनमा उपाध्यक्षका लागि उम्मेदवारी दिन तयारीमा रहेका नेता भीमप्रसाद आचार्यमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ५५ जना विरुद्ध मुद्दा दायर गरेकोमा आचार्य पनि सूचीकृत छन्। महाधिवेशन सुरु हुन अब पाँच दिन मात्र बाँकी रहेको बेला उनीमाथि मुद्दा दायर गरिएको हो।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने तयारी छ। उपाध्यक्ष पदका लागि दाबेदारी गर्दै आएका आचार्य महाधिवेशन प्रतिनिधिहरूसँग निरन्तर छलफलमा थिए।
तर महाधिवेशन नजिकिँदै गर्दा उनीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि राजनीतिक चर्चा चुलिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका समयमा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।
मन्त्री पदमा रहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षको हैसियतमा आचार्यले अनियमितता गरेको दाबी अख्तियारको छ।
आचार्य २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए।
उनी कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन्। आचार्य २०७८ भदौमा कोशी प्रदेशको मुख्यमन्त्री भएका थिए।
उनी विघटित प्रतिनिधि सभाका सांसदसमेत हुन्। आचार्य २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भएका थिए।
अब आचार्यले महाधिवेशनमा उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा भने अझै प्रस्टता आइसकेको छैन। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी यस विषयमा गम्भीर रहेको प्रतिक्रिया दिएका छन्।
उनले संवैधानिक तथा कानूनी प्रावधानका आधारमा नै पार्टीले आफ्नो आधिकारिक धारणा बनाउने छ ।
#ग्लोबल आवाज
प्रतिक्रिया