ओलीको ‘एकलौटी लाइन’ विरुद्ध पोखरेलको यस्तो छ ‘फुल प्याकेज’ प्रस्ताव !

महाधिवेशनमा एमालेभित्र खुल्दै नयाँ शक्ति–सन्तुलन

सोमबार, २२ मंसिर २०८२

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीको एकलौटी प्रस्तावलाई चुनौती दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै राजनीतिक प्रस्तावसहित महाधिवेशनमा ‘फुल प्याकेज’ दस्ताबेज लैजाने तयारी गरेका छन्।

अध्यक्ष ओलीले महाधिवेशनमा आफू मात्र बोल्ने, थप छलफल नहुने धारणा सार्वजनिक गरिरहँदा पोखरेल समूह भने विपरीत दिशामा उभिएको छ।

आज दिउँसो २ बजे पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईलगायतका नेता ओली निवास गुण्डु पुगेर छुट्टै प्रस्ताव प्रस्तुत गर्ने औपचारिक माग राख्न लागेका छन्।

पोखरेल समूहका एक नेताले भने, “हामी राजनीतिक, साङ्गठनिक र विधानसम्बन्धी छुट्टै प्रस्ताव लैजान्छौँ। प्रतिनिधिहरूलाई बाँडिन्छ, त्यसका लागि अध्यक्षसँग लिखित रूपमा अनुमति माग्दै छौँ।”

पोखरेलले भदौ २३–२४ को जेनजी आन्दोलनपछि राजनीतिक परिदृश्य नै बदलिएको भन्दै पार्टीको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन र प्रस्ताव पुनः समीक्षा गर्नुपर्ने तर्क अघि सार्दै आएका छन्।

सामाजिक सञ्जालमार्फत उनले ‘बहुदलीय जनवादको मार्गदर्शनअनुसार नयाँ निष्कर्ष निकाल्न महाधिवेशन निर्णायक हुनेछ’ भनेर सङ्केत पनि गरिसकेका छन्।

पोखरेल समूह आज ११ बजे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छ। सो सकिएपछि उनीहरू गुण्डु पुग्नेछन्। एमालेभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। जेनजी आन्दोलनपछिको ध्रुवीकरण बढिरहेका बेला पोखरेल समूहले प्यानल निर्माणमा तीव्र गति दिंदैछ।

विगतमा ओली पक्षका शक्तिशाली मानिएका गोकुल बास्कोटा र विनोद ढकालले पोखरेल समूहसँग सहकार्य गरिरहेको बुझिएको छ। अहिले उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईले प्यानल निर्माणको काम सम्हालिरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार