चितवन । जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ जनाले हतियार राख्न अनुमति लिएका छन् । स्थानीय प्रशासनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन अनुमति लिएर राखिएका हतियार बुझाउन गत माघ ६ गते सूचना प्रकाशित गरेको थियो । पन्ध्र दिनभित्र हतियार बुझाउन भनिए पनि सो अवधि सकिँदासमेत सम्पूर्ण हतियार फिर्ता गरिएको छैन ।
“हतियार राख्ने अनुमति लिएर जिल्ला बाहिर राखिएको पनि हुन सक्छ, अन्य जिल्लामा बुझाइएको तथ्याङ्क आउने क्रम जारी छ”, प्रजिअ अर्यालले भने । उनका अनुसार बैंकिङ क्षेत्रमा रहेका हतियार बैंकको सुरक्षाका लागि राखिने हुँदा ती हतियार फर्ता गर्नुपर्दैन । अन्यको हकमा अनुमति लिएर राखिएका हतियार निर्वाचनको समयमा फिर्ता गरी निर्वाचनपछि पुनः लिन मिल्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया