विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा डाक्टरको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण ७ वर्षीय जेनिश पाठकले दाहिने आँखाको ज्योति गुमाउनुपरेको घटना पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले घटना ‘चरम लापरबाही’का कारण भएको ठहर गरेको हो।
इटहरी–१ का जेनिशलाई नाकको दाहिने प्वालमा मासु पलाएपछि परिवारले मङ्सिर ४ गते नोबेल मेडिकल कलेजमा भर्ना गराएका थिए।
भोलिपल्ट मङ्सिर ५ गते डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा शल्यक्रिया सुरु भयो। तर शल्यक्रिया चलिरहेकै बेला डा. श्रेष्ठ ‘अर्को इमर्जेन्सी केस’ भन्दै अपरेसन थिएटरबाट बाहिरिए र बाँकी प्रक्रिया सहायक डा. कविराज बास्तोलासहितको टोलीले पूरा गर्यो।
तर शल्यक्रियापछि बालकको दाहिने आँखामा गम्भीर समस्या देखियो। अस्पतालले डिस्चार्ज गरे पनि परिवार शङ्काको आधारमा उनलाई विराटनगर आँखा अस्पताल पुर्यायो।
परीक्षण रिपोर्टमा ‘आँखाको भित्री भाग पूर्ण क्षति भइसकेको र बालक अब कहिल्यै देख्न नसक्ने’ निष्कर्ष आएपछि परिवार स्तब्ध बनेको छ।
यता, घटनापछि परिजनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिँदै न्यायको माग गरे। प्रशासनको निर्देशपछि स्वास्थ्य मन्त्रालयले डा. अनिता जिसी संयोजकत्वमा छानबिन समिति गठन गर्यो।
समितिसँगको बयानमा डा. प्रज्वल श्रेष्ठले ‘अप्रेसन अधुरै छाडेर निस्किएको’ गल्ती स्वीकार गरेका छन्।
समितिले शल्यक्रिया बिचमै मुख्य चिकित्सकले छाडेर जाने निर्णय नै दुर्घटनाको मूल कारण भएको ठहर गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन तथा दोषी चिकित्सकमाथि कडा कारबाही गर्न सिफारिस गर्न लागेको छ। प्रतिवेदन १–२ दिनभित्र मन्त्रालयमा बुझाइने बताइएको छ।
प्रतिक्रिया