झापा : बिहान ३ बजे साइरन बज्यो। ओछ्यानमा सुतिरहेको अवस्थामै साइरनको आवाज उनको कानमा पुग्यो। सुन्नेबित्तिकै हतपत कोठाबाट उनी बाहिर निस्किए। बाहिर निस्किएर यताउता हेर्दा आकाशबाट परेको पानी मात्र थियो। खोलाको पानी घरआँगनसम्म आएको थिएन।
झापा गाउँपालिका–२ कुवाडीकी कल्पनाकुमारी राजवंशीले पीडाको त्यो क्षण सम्झँदै भनिन्, ‘फेरि कोठामा गयौँ, त्यसपछि निद्रा लागेन। साढे ५ बजेतिर त खोलाको पानी गाउँमा छिरिरहेको आवाज नै आयो।’
ह्वातै पानी आउँदा त घरआगन बिहान ६ बजे डुबानमा परिसकेको त्यो क्षण सम्झँदा उनलाई कहाली लाग्छ। राजवंशीले भनिन्, ‘घरभित्रको सरसामान सार्दासार्दै गाईबस्तु डुबानमा पर्यो। त्यसपछि नजिकै रहेको छिमेकीको पक्की घरको बरन्डामा सरसामान र गाईबस्तु लगेर सुरक्षित बस्यौँ।’
गाउँमा अहिलेसम्म यस्तो बाढी नछिरेको उनको भनाइ छ। बाढीले उनको टिनले बनाएको कच्ची घर भत्काइदिएको छ। अविरल वर्षापछि असोज १९ गते बिहान कनकाई माई नदीमा आएको बाढीले करिब २०० मिटर तटबन्ध भत्काई प्रवेश गर्दा कुवाडी गाउँ पूरै तहसनहस बनायो।
तटबन्ध भत्काएको स्थल देखाउँदै कुवाडीका विजय राजवंशीले भने, ‘गाउँमा लेदोसहितको पानी छिर्यो, घरआँगन सबै डुबानमा पर्यो, ज्यान जोगाउनै मुस्किल भयो। २४ घण्टा भोकभोकै बस्नुपर्यो, यस्तो विनाश कहिल्यै देखिएको थिएन।’
कुवाडीकी विना अधिकारीले भनिन्, ‘घरमा बस्ने अवस्था नै छैन। घरआँगनमा रहेका धान, मकै, चामललगायतका सरसामान सबै बाढीले बगायो।’ पहिला पनि बाढी आएको हो। तर, यस्तो विनाश हुने गरी चाहिँ यो पहिलो पटक आएको उनले बताइन्। दिउँसो ४ बजेपछि गाउँ छिरेको पानी कम हुँदै गएको स्थानीय महादेवप्रसाद राजवंशीले बताए। सडकमै कम्मर–कम्मर पानी थियो। यहाँको अवस्था भयावह थियो।
गाउँलेहरू चिच्याउँदै, कराउँदै ज्यान जोगाउन सुरक्षित स्थानतर्फ गएको बताउँदै राजवंशीले भने, ‘बाढीको भोलिपल्ट गाउँलेहरू घरआँगनमा छिरेको लेदोसहितको पानी सरसफाइ गर्दै बसे, पानी परेन भने पहिलाकै अवस्थामा फर्किन हप्ता दिन लाग्छ।’ बाढीले यहाँका धेरै कच्ची घरहरूमा क्षति पुर्याएको छ। पाक्नै लागेको धान बाढीले सुताइदिएकाले यहाँ हजारौँ बिगाहा धान खेतमा पनि क्षति पुगेको उनको भनाइ छ।
झापा गाउँपालिका–१ का सुडुखुट्टु, मिलनवस्ती, सितुमारी, लसुनगन्ज, सालमारा, झापा–२ का सुगा बथान, कुवाडी, सडकबारी, बालुवाटार, सिर्जना बस्ती, हल्दार बस्ती, राउत डाँडा, नबिरल टोल र झापा–७ का तीन टोलिया, टप्पु, चौधरी टोलका बासिन्दा सबैभन्दा बढी विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए। अहिलेसम्म झापा गाउँपालिकामा १८ सयभन्दा बढी परिवार विस्थापित भएका छन्।
विस्थापितमध्ये अधिकांश घर फर्किसकेका छन् भने केही अझै पनि रेडक्रस भवनमा बसेका छन्। विस्थापितमध्ये बुधबार झापा–२ का सुगान बथान र कुवाडीका २४६ र झापा–१ का सालमारा र मिलनबस्तीको ३७७ गरी ६२३ परिवारलाई खाद्यान्न सामग्री, त्रिपाल, म्याट्रेस र ब्याल्याङ्केट वितरण गरिने सभापति ढकालले बताए। विभिन्न स्थानबाट उपलब्ध भएको राहत सामग्री यसपटक एकद्वार प्रणालीमार्फत अघि बढाउने निर्णय भएको उनले बताए।
त्यस्तै, जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले राहत एकद्वार प्रणालीमार्फत वितरण गरिने निर्णय भएको बताए। विगतमा राहतको नाममा दुई/चार पोका चाउचाउ र पानी बाँडेर फोटो खिचाउने प्रवृत्ति देखिएकाले यसपटक एकद्वार प्रणाली लागू गरिएको उनको भनाइ छ। ‘यसपटक हामीले प्याकेज बनाएका छौँ। सहयोग गर्ने दाताहरूले पनि त्यही प्याकेजमा अनुसार सहयोग गर्नुपर्ने हुन्छ। जिल्लाभर दुई हजार परिवारलाई राहत आवश्यक छ,’ उनले भने।
ज्यान जोगाउन रातभरि घरको छतमा बास
कनकाई र सानोमाई खोलामा आएको बाढी गाउँमा एक्कासि प्रवेश गर्दा झापा गाउँपालिका–२ कुमरखोद, सडकबासीका मुस्लिम समुदायका अधिकांश परिवार बालबच्चासहित रातभरि घरको छतमा बसेका थिए।
२०७४ सालमा पनि बाढी आएको थियो। तर, यसपल्ट पूर्वबाट बग्ने सानोमाई र पश्चिमबाट बग्ने कनकाई माई नदीको भेल एकै पटक गाउँमा छिर्दा बालबच्चासहित परिवारको ज्यान जोगाउन नै मुस्किल परेको स्थानीय भानु खातुनले सुनाइन्।
बाढीले घर भत्काइदिएको छ। ‘घरआँगनमा सर्पको बिगबिगी पनि त्यस्तै छ, कहाँ बस्ने हामी समस्या छौँ,’ खातुनले भनिन्। ज्यान जोगाउन छिमेकी घरको छतमा भोकभोकै रात बिताएको पीडा सुनाउँदै स्थानीय सबनम आराले भनिन्, ‘१० मिनेटमै घरभित्र पानी पस्यो, सरसामान निकाल्नै सकिएन, बिहान ६ बजे गाउँमा पसेको पानी राति ११ बजे घटेको थियो।’ यस्तो बाढी आजसम्म आफूले नदेखेको उनले सुनाइन्।
घरको छत नभई सानोमाई खोलाको झोलुङ्गे पुलमाथि पनि यहाँका केही स्थानीय रातभर बस्न बाध्य भए। घरभित्र रहेको खानेकुरादेखि सबै बगायो। ‘नानीहरूलाई लिएर सात जनाको परिवार झोलुङ्गे पुलमा गएर बस्यौँ’, स्थानीय माया परिवारले भनिन्, ‘घरभित्र लेदोसहितको पानी, त्यहाँ बस्ने अवस्था पनि छैन, हाम्रो त बिजोक भयो।’
स्थानीय गुलबार खातुनको अवस्था पनि त्यस्तै छ। एकल महिला रहेकी गुलबारकी चार जना छोराछोरी छन्। बाढीले उनको घर पनि भत्काइदिएको छ। अर्को स्थानीय श्री हेमरमले आफ्नो भत्किएको कच्ची घर देखाउँदै भन्छन्, ‘बाढी यसरी घरभित्र पस्यो कि कोठाभित्रबाट एउटा कागज पनि निकाल्न सकेनौँ।’
सडकमै चार फिटसम्मको पानी थियो। २०७४ सालको बाढी सडक किनारसम्म मात्र आएको थियो, घरआगनमा छिरेको थिएन। ‘यसपल्ट त खोलाको पानी सडक पार गरी घरभित्रै पस्यो,’ हेमरमले भने, ‘घर भत्किएकाले पुनर्निर्माण नगरी त्यसमा बस्नै सकिँदैन, बाढीले सबै लगियो।’
२०२५ सालतिर पनि यस्तै बाढी आएको थियो गाउँमा
झापा–२ नरिवल टोल निवासी ६८ वर्षीय पनिलाल कोचले २०२५ सालको बाढी आउँदा बिउ राख्ने पटुवाबारीमा तीनवटा शव भेटिएको घटना सुनाए। अहिलेसम्म गाउँमा तीन पटक ठूलो बाढी आयो। २०२५, २०७४ र २०८२ साल असोज १९ गते। योभन्दा ठूलो बाढी २०२५ सालमा आएको थियो। त्यसबेला यहाँ ठूलो धनजनको क्षति भएको पनिलालले सुनाए।
२०२५ र २०७४ सालमा यहाँ हुलाकी राजमार्ग थिएन। राजमार्ग नभएकाले पनि त्यति विनाश हुन पाएन। ‘तर, यसपल्टको बाढीले धेरै गाउँमा विनाश गर्यो,’ पनिलालले भने, ‘हुलाकी राजमार्ग र राजमार्गमा राखिएको स-साना कल्भर्ट, ह्युम पाइपले गर्दा गाउँमा छिरेको पानीले निकासा नपाउँदा ठूलो भौतिक क्षति भयो, मेरो त घरको माटो पनि बगाएर लग्यो।’
२०७४ सालमा विरिङ र सानो माइको पानी मात्रै गाउँमा छिरेको थियो। त्यसबेला कनकाई माईको पानी गाउँमा छिरेन। यसपल्ट तीनै नदीको पानी गाउँमा छिर्दा ठूलो क्षति हुन गएको स्थानीय झकेन्द्र खनालले बताए।
२०२५ सालको बाढी आफूलाई थाहा नभएको बताउँदै खनालले भने, ‘२०७४ भन्दा पनि यसपल्ट ठूलो बाढी आएको हो, बेलैमा सचेत गराइँदा मानवीय क्षति हुनबाट जोगियो।’ ५२ वर्षीय स्थानीय धनबहादुर अधिकारी भन्छन्, ‘बिहान ७ बजे पानी यतातिर आइपुग्यो, राति सुतेको बेला आएको भए ठूलो मानवीय क्षति हुन्थ्यो।’ आफूले जिन्दगीमै पहिलो पटक यस्तो बाढी देखेको उनले सुनाए।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया