प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

शुक्रबार, २६ मंसिर २०८२
मुङ्ग्री माछा नष्ट गरिदै

सिरहा :  भारतबाट अवैध रूपमा बिक्रीका लागि ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १ सय केजी माछा नेपाल प्रहरीले बरामद गरी नष्ट गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट बिहीबार उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो । 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित एक मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएको माछा गोलबजार नगरपालिका वडा नम्बर ८ चोहर्वाका राजा सहनीको भएको प्रहरी निरीक्षक केसीले बताए । 

सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको आरोप लगाइएको छ । उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको विशेष सूचनाका आधारमा प्रहरीले प्रतिबन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ । 

मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले सरकारले प्रतिबन्धित गरेको छ । अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको वताइन्छ । 

बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार