विराटनगर : मोरङको विराटनगर–रानीस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आफ्नो स्थापनाको ५९ वर्ष पूरा गर्दै आइतबारबाट ६० औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आइतबार केन्द्र परिसरमा विशेष कार्यक्रमका साथ ५९ औँ वार्षिकोत्सव मनाइएको हो ।
वार्षिकोत्सव कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विक्रम संवत् २०२३ सालमा सुनसरीको धरानमा स्थापना भएको यो तालिम केन्द्र २०३३ सालमा विराटनगरको रानीमा स्थानान्तरण गरिएको थियो ।
यो अवधिमा तालिम केन्द्रले नेपाल प्रहरी संगठनका लागि ८४ हजार २०७ जना प्रहरी कर्मचारीलाई विभिन्न किसिमका तालिम प्रदान गरिसकेको छ । केन्द्रले प्रहरी जवानको आधारभूत तालिमदेखि असईको अल्पकालीन तालिम तथा प्रहरी जवानदेखि वरिष्ठ नायव निरीक्षकसम्मका सेवाकालीन तालिम सञ्चालन गर्दै आएको छ ।
तालिम केन्द्रका प्रवक्ता तथा डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार नागरिकमैत्री, व्यावसायिक र दक्ष प्रहरी जनशक्ति उत्पादन गर्नु केन्द्रको मुख्य उद्देश्य हो । समयानुकूल सुरक्षा चुनौती, नीति निर्देशन र आवश्यकताअनुसार आधारभूत, उन्नत, अनुशिक्षण तथा घुम्ती तालिमहरू सञ्चालन हुँदै आएका छन् ।
तालिम केन्द्रका प्रमुख एसएसपी गोविन्द अधिकारीले आधुनिक र व्यवहारिक प्रशिक्षण प्रणाली विकासमा केन्द्रित भएर काम भइरहेको बताए । उनले नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७० (संशोधन सहित)’ बमोजिम तालिम सञ्चालन भइरहेको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत २५ वटा तालिममध्ये हालसम्म ७ वटा तालिम सम्पन्न भइसकेका छन् । यस वर्ष जवानदेखि जुनियर अधिकृतसम्मका १ हजार ७८ जना प्रहरी कर्मचारीलाई तालिम दिने लक्ष्य रहेकोमा हालसम्म २ सय १८ जनाले तालिम पूरा गरिसकेका छन् ।
हाल तालिम केन्द्रमा प्रहरी जवानका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन भइरहेको छ । केन्द्रमा प्रशिक्षक, प्रदेश प्रहरी ब्याण्ड, खेलकुद टोली तथा प्रशासनिक जिम्मेवारीमा रहेका गरी २ सय १३ जना प्रहरी कर्मचारी कार्यरत छन् भने ४ सय ७३ जना प्रशिक्षार्थी विभिन्न तालिममा संलग्न छन् ।
प्रदेशस्तरीय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा स्तरोन्नतिको लक्ष्यसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा प्राप्त ५० बिघा जग्गामा पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढाइएको एसएसपी अधिकारीले जानकारी दिए । हाल दुईवटा भवन निर्माण सम्पन्न भइसकेका छन् भने थप कार्यालय, ब्यारेक, महिला आवास र आन्तरिक प्रशिक्षणालयका भवनहरू विभिन्न स्रोतको बजेटमा निर्माणाधीन छन् ।
वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, भलिबल, रस्साकस्सी र पिलो फाइट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ ।
यसै अवसरमा तालिम केन्द्रद्वारा नियमित रूपमा प्रकाशन हुँदै आएको ‘प्रहरी जवान स्मारिका’को २३ औँ अंक विमोचन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी विनोद घिमिरेले प्रहरी तालिम केन्द्रलाई प्रहरी संगठनको आधारस्तम्भको रूपमा वर्णन गरे । बदलिँदो सुरक्षा चुनौती, साइबर अपराध, सामाजिक अस्थिरता र निर्वाचनजस्ता संवेदनशील अवस्थालाई सामना गर्न सक्षम, अनुशासित र नागरिकमैत्री प्रहरी उत्पादनमा तालिमको भूमिका निर्णायक रहेको उनले उल्लेख गरे ।
‘प्रहरी तालिम केन्द्र ज्ञान र अनुशासनको पाठशाला हो,’ डीआईजी घिमिरेले भने, ‘यहाँ कार्यरत प्रत्येक प्रहरी कर्मचारी प्रशिक्षक र नमुना बन्नुपर्छ ।’ ६० औँ वर्षमा प्रवेशसँगै तालिम केन्द्र अझ आधुनिक, प्रभावकारी र जनमैत्री प्रहरी निर्माणतर्फ अघि बढिरहेको उनले बताए ।
प्रतिक्रिया