काठमाडौँ : ‘भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै छु’ भन्दै सरकारी कार्यालयहरूमा पुगेर उच्च अधिकारीलाई धम्क्याउने अर्जुनबहादुर शाही ठगीका अभियुक्त भएको खुलेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का २६ वर्षीय शाहीमाथि ठगी, चेक बाउन्स र बाख्रा चोरीसमेतका मुद्दा दर्ता भएका छन्।
पछिल्ला दिनमा शाही ‘जेनजी आन्दोलन’को नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्य सरकारी कार्यालयमा उच्च अधिकारीलाई सार्वजनिक रूपमा राजीनामा दिन दबाब दिँदै आएका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई टेबल ठोकी–ठोकी धम्की दिने उनका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्।
शाहीको नाम पहिलो पटक चर्चामा आउँदा उनी तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न शीतल निवास पुगेका थिए। आफूलाई ‘जेनजी आन्दोलनका अगुवा’ भनेर प्रस्तुत गर्ने शाहीले त्यसयता सरकारी निकाय, निजी कम्पनी र स्थानीय तहमा ‘जनताको प्रतिनिधि’को हैसियतमा हस्तक्षेप गर्दै आएका छन्।
तर प्रहरीले भनेका छन्, शाही कुनै आन्दोलनकारी होइनन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत वैशाखमा उनलाई वैदेशिक रोजगारीका नाममा युवालाई जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। अनुसन्धानपछि वैदेशिक रोजगार विभागमा बुझाइएको थियो।
यसपछिका महिनाहरूमा महाराजगन्ज, बौद्ध र स्वयम्भू प्रहरी वृत्तहरूमा शाही विरुद्ध दुई लाखदेखि दश लाख रुपैयाँसम्मका चेक बाउन्सका उजुरीहरू दर्ता भएका छन्। अछामकै तुलाबहादुर शाहीका तीन बाख्रा चोरी प्रकरणमा पनि उनको संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ।
एक प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा भने, “हामीले उनलाई पक्राउ गरेका थियौँ, तर गृहमन्त्रीको निर्देशनपछि रिहा गर्न आदेश आयो। मुद्दा अझै बाँकी छ, पछि फेरि कारबाही हुनेछ।”
अहिले पनि शाही ‘जेनजी आन्दोलन’को नाममा सरकारी कार्यालयमा धम्की दिने, अधिकारीको राजीनामा माग्ने र आफूलाई ‘जनताको प्रतिनिधि’को रूपमा प्रस्तुत गर्ने कार्यमा सक्रिय छन्।
प्रतिक्रिया