सर्लाही। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको छ।
लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन्।
लोसपासँगै जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसदहरूको हस्ताक्षर सहित ५६ जना प्रदेशसभा सदस्यले बुधबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नयाँ सरकारका लागि दाबी बुझाएका हुन्।
यसअघि मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेकी थिइन्।
यसअघि नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा सरकार गठनको तयारी गरे पनि पछिल्लो सत्तासन्तुलनमा फेरबदल भएको हो। जनमत पार्टीले एमाले-कांग्रेस गठबन्धन छाडेर साना दलहरूतर्फ लागेपछि लोसपाका सोनलको नेतृत्वमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरिएको हो।
अन्तिम समयमा जनमत पार्टीले नेपाली कांग्रेसको साथ छोड्दै लोसपाको नेतृत्वमा बन्न लागेको गठबन्धनमा सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ।
प्रतिक्रिया