काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब देश र पार्टी दुवैको नेतृत्व नवयुवाको हातमा आउने समय आएको बताएका छन्। उनले देशलाई वर्तमान अवस्थाबाट निकाल्न नयाँ पुस्ताले नेतृत्वको जिम्मा लिनुपर्ने र त्यसका लागि हाम्रो पुस्ता तयार भइसकेको दाबी गरे।
गृह जिल्ला डडेल्धुरा जाँदै गर्दा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता महरले आगामी फागुन २१ गतेका लागि तोकिएको पार्टीको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिए। उनले भने, “देशलाई सफल नेतृत्व प्रदान गर्न पार्टीको आन्तरिक एकता र संगठन सुदृढ हुन जरुरी छ। पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुनुपर्छ र नयाँ पुस्ताको नेतृत्व स्थापना अब अपरिहार्य बनेको छ।”
पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै महरले सबैको मतको सम्मान गर्ने संस्कारले मात्र लोकतन्त्र बलियो बन्ने बताए। उनका अनुसार, केन्द्रीय समितिमा सर्वसम्मत सहमतिको अभ्यासले पार्टीलाई एकता र स्थायित्व दिने भएकाले त्यसको निरन्तरता कायम रहनुपर्छ।
उनले पार्टीको पुनर्जागरणका लागि देशभर चलिरहेका बहस र संवादले संगठनलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरे। नियमित महाधिवेशनलाई पार्टीको जीवन्तता र एकताको आधार बताउँदै उनले भने, “समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई सुदृढ र एकताबद्ध बनाउँछ।”
नेता महरले नेतृत्वमा पुस्तान्तरण सुनिश्चित गर्न ‘कुलिङ पिरियड’ (विश्राम अवधि) को अवधारणा लागू गर्नुपर्ने प्रस्ताव अघि सारे। उनले भने, “तीन पटक सांसद, दुई पटक मन्त्री, निरन्तर तीन कार्यकालसम्म केन्द्रीय समितिमा रहेका, पूर्व र वर्तमान पदाधिकारी, गठबन्धन र सरकारका संयन्त्रमा बसेका, ७० वर्ष उमेर पुगेका तथा सार्वजनिक जीवनमा प्रश्न उठेकाहरूका लागि ‘कुलिङ पिरियड’ लागू हुनुपर्छ।”
महरका अनुसार यस्तो व्यवस्था लागू गर्न सके मात्र योग्य र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन सकिन्छ र पार्टीमा नयाँ ऊर्जा प्रवाह हुनेछ।
अन्त्यमा उनले देश र पार्टीको निकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै भने, “देशको निकास संविधानमा छ भने, कांग्रेसको निकास विधानमा छ। यी दुईलाई केन्द्रमा राखेर दृढतापूर्वक निर्णय र कार्यान्वयन गर्न सके मात्र देश र पार्टी दुवै सही बाटोमा अघि बढ्नेछन्।”
प्रतिक्रिया