सुर्खेत । फिरन्ते जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो एक हप्तामा यो समुदायका २५ जना बिरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदायमा बिरामीको सङ्ख्या बढ्दै गए पछि समस्या देखिएको छ ।
सुरुमा दुई जना बिरामीबाट सुरु भएको सङ्क्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको सङ्ख्या दिनहुँ बढ्दै गएको उनले बताइन् ।
बिरामीहरूलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरू थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परीक्षणमा मन नगर्ने राउटेहरूलाई प्राथमिक उपचारमा सीमित राख्नु परेको उनको भनाइ छ ।
‘राउटे बस्तीमा ज्वरोको सङ्क्रमण बढ्दो छ । २५ जनाभन्दा बढी बिरामी परेका छन्,’स्वास्थ्यकर्मी पन्तले भनिन्, ‘तर राउटेहरू डेङ्गुलगायत रोग चेकजाँच गर्न मान्दैनन् । त्यसैले प्राथमिक उपचार मात्र गर्ने गरिएको छ ।’
अस्वस्थ जीवनशैली, मदिरा तथा सुर्तीजन्य पदार्थ सेवनका कारण राउटे समुदायका मानिसहरूमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झँदै गएका छन् ।
राउटेहरू प्रायः कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् । राउटे समुदायको सङ्ख्या लगातार घटिरहेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको सङ्ख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा १४९ रहेको राउटेको जनसङ्ख्या हाल घटेर १३७ जनामा झरेको छ ।
बस्तीमा असुरक्षित महसुस
समुदायमा त्रास बढेपछि राउटेले सुरक्षा माग गरेका छन् । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका हुन् ।
जङ्गलमा बस्दै आएका उनीहरूका बस्तीमा जथाभाबी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित महसुस गरेको उनीहरूको भनाइ छ । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको हो ।
असोज २४ राति राउटे समुदायमा त्रास सिर्जना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा लिएका थिए ।
सुर्खेतको लेकबेशी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटे बस्तीमा छिरेका थिए । शनिवार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार पक्राउ परेका लेकवेशी नगरपालिका स्थायी घर भएका उनीमाथी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले राउटे बस्तीमा अनाधिकृतरुपमा प्रवेश गरेका उनीमाथि अनुसन्धान थालिएको बताए । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशले राउटे समुदाय असुरक्षित बन्दै गएको छ ।
प्रतिक्रिया