ठेक्का अवधि सकिँदा सेती पुलमा आधा काम

मंगलबार, २८ असोज २०८२

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको निर्माण कार्य ठेक्का अवधि सकिए पनि आधा मात्रै सम्पन्न भएको छ।

तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिँदा पनि पुलको करिब ५० प्रतिशत मात्र काम भएको आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार आगामी वैशाखसम्म ठेक्का म्याद थपिएको छ।

“अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल पूरा हुन मुस्किल छ,” कुँवरले भने, “निर्माण कम्पनीले पुलका लागि आवश्यक केवललगायतका सामग्री समयमा ल्याउन नसक्दा ढिलाइ भएको हो।”

विक्रम संवत् २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो। पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको र त्यसपछि मात्रै कामले गति लिएको कुँवरले बताए।

चीनबाट पुल निर्माणका लागि आवश्यक केवल ल्याउन कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरेको छ। ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलका चार जग निर्माण सम्पन्न भइसकेका छन् भने टावर निर्माण अन्तिम चरणमा पुगेको छ।

भ्याटबाहेक करिब ९४ करोड रुपैयाँ लागतमा बन्ने यो पुल एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको हो। पुल आकर्षक डिजाइनमा बनेको र यसले पोखराको पर्यटकीय आकर्षण थप गर्ने आयोजनाका प्रमुख कुँवरले बताए।

एक सय ९० मिटर लामो सो पुल कङ्क्रिट र फलामको संरचनामा निर्माण भइरहेको छ। पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुसार सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माण भइरहेको हो।

हालसम्म आयोजनाको पश्चिम खण्डमा ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने दुई पुल — पोखराको सेती र विजयपुर खोलामा — निर्माणाधीन छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार