मोरङ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित देखिएका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले नयाँ मतदाताहरूमा उत्साह थपेको छ। सरकारले मतदाता नामावलीमा नाम दर्ता गराउन समय थपेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिती उल्लेख्य देखिएको छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति फागुन २१ तय गरिएको छ भने निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिका पनि सार्वजनिक गरिसकेको छ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाहरूले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा व्यक्त गर्दै अब नयाँ र सक्षम उम्मेदवारलाई मतदान गर्न नाम दर्ता गराउन आएका बताए। विराटनगर–१ का आयुष आचार्यले योग्य उम्मेदवारलाई मतदान गर्न मतदाता परिचयपत्र बनाउन आएको जानकारी दिए।
यस्तै, विराटनगर–११ की जोत्सीना सापकोटाले भनिन्, “युवाको मतले चुनिएको प्रतिनिधिले गर्व गर्न सक्ने काम गर्नुपर्छ।” सोमबारसम्म प्रदेश निर्वाचन कार्यालय विराटनगरमा करिब १,५३० नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्। कार्यालय असोज १० गतेदेखि बिहान ८ देखि साँझ ५ बजे सम्म खुल्ने गरेको छ, जहाँ अधिकांश नाम दर्ता गर्ने युवाको उमेर २५ वर्षभन्दा कम रहेको प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाईंले जानकारी दिए।
प्रतिक्रिया