गृहमन्त्री अर्यालको प्रतिक्रिया : ‘अब ओलीको जमाना सकियो’

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौँ : गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै  प्रतिक्रिया दिएका छन्।

उनले कानुनभन्दा माथि कोही पनि नरहेको चेतावनी दिँदै ओलीको ‘मलाई समातेर देखाऊ’ भन्ने अभिव्यक्तिलाई आपराधिक अहङ्कारको रूपमा व्याख्या गरेका छन्।

सोमबार सञ्चारकर्मीले ओलीको सो चुनौतीबारे प्रश्न गर्दा मन्त्री अर्यालले भने, “त्यो भनेको म कानुन मान्दिनँ भन्ने हो। केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने ? त्यो पहिलाको चाहिँ त्यस्तो थियो, अब त्यस्तो हुँदैन।”

हालै गृहमन्त्री अर्यालले द्वन्द्वकालमा लुटिएका हतियार अझै पनि केही राजनीतिक दलहरूले लुकाएर राखेको हुन सक्ने बताएका थिए।

सोही अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्री ओलीले सरकारलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए। त्यसको प्रतिउत्तरमा मन्त्री अर्यालले कानुनी राज्यमा यस्तो ‘चुनौती संस्कृति’ स्वीकार्य नहुने स्पष्ट पारेका छन ।

उनले भने, “कुनै राजनीतिक शक्तिले अझै हतियार सङ्ग्रह गर्ने चाहना राखेको छ भने, अब उनीहरूले शान्ति र अहिंसाको बाटो रोज्नु पर्ने समय आएको छ। स्वघोषणा गरेर हिंसाको बाटो त्याग्नुपर्छ।”

त्यसैगरी, मन्त्री अर्यालले पूर्वमन्त्री दीपक खड्का विदेश भागेको भन्ने आफ्नै अभिव्यक्तिबारे पनि स्पष्ट पार्दै भने, “मैले अन्तर्वार्ता दिँदाको अवस्थामा उहाँ भारतमै हुनुहुन्थ्यो। अन्तर्वार्ता प्रकाशित भएपछि मात्र नेपाल आउनुभयो।”

उनले जलेको घर देखाएर ‘म यहीँ छु’ भन्ने शैलीले पुरानो यथार्थ लुकाउन नसकिने उल्लेख गर्दै राजनीतिक जबाफदेहिताको संस्कृतिलाई मजबुत बनाउनु पर्ने आवश्यकता औँल्याए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार