मेचीनगरमा भेटियो ‘हरित परेवा’को बथान

सोमबार, ०३ कार्तिक २०८२
Photo : Shankar Luitel Facebook

झापा : दुर्लभ मानिएको ‘हरित परेवा’को ठूलो बथान मेचीनगरमा फेला परेको छ । वन्यजन्तु फोटोग्राफर देवेन्द्र खरेल र संरक्षण अभियन्ता शङ्कर लुइँटेलले बथान फेला पारेका हुन् ।

मेचीनगर नगरपालिका– ४ बाहुनडाँगी र वडा नं ६ काँकडभिट्टा क्षेत्रमा विगत चार दिनमा ९१ वटाको सङ्ख्यामा ती दुर्लभ चरा गणना गरिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताए । 

अङ्ग्रेजीमा ‘ग्रिन इम्पेरियल पिजन’ नाम दिइएको हरित परेवाको रङ हरियो हुन्छ । खरेलले नै विसं २०७७ मङ्सिर ९ गते मेचीनगर–७ सतिघट्टाको सिमलको रुखमा नेपालमै पहिलोपल्ट हरित परेवा फेला परेको तस्बिर खिचेर यो चरा नेपालमा पाइन्छ भन्ने प्रमाणित गर्नुभएको थियो । उनले तस्बिर खिचेपछि नेपालमा पाइने चराको प्रजातिमा हरित परेवा थपिएको थियो ।

नेपालको मेचीनगर क्षेत्रमा मात्र पाइएको यो चरा घरेलु परेवा, ढुकुर र हलेसोभन्दा आकारमा ठूलो हुने उहाँले बताए । यसको आकार ४२ देखि ४७ सेन्टिमिटरसम्म लामो हुने र नेपालसहित भारत, श्रीलङ्का, चीन, इन्डोनेसिया र फिलिपिन्समा यो चरा पाइएको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलले मेचीनगर–४ बाहुनडाँगीमा हरित परेवाको बथान देखेपछि फोटो र भिडियो खिचेको बताए । यसअघि मेचीनगरको दक्षिणी क्षेत्रमा मात्र यो चरा भेटिने गरेको थियो ।

विगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्गसरी भएको खरेलको भनाइ छ । मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने माग गरिएको बताए । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार