कञ्चनपुर : तिहार नजिकिँदै गर्दा विपिन जोशीकी बहिनी पुष्पा दाजुको प्रतिक्षामा थिइन्। उनको एउटै आग्रह थियो “दाइलाई जसरी पनि तिहारमा घर पुर्याइदिनु, मैले दाइलाई भाइटीका लगाउँछु।” तर यो तिहार पनि उनका दाइ फर्किएनन्, फर्कियो त केवल उनको निर्जीव शरीर, कफिनभित्र।
प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर हत्या गरेका कञ्चनपुर भीमदत्त नगरपालिका–३ बिचपुरीका २४ वर्षीय विपिन जोशीको शव दुई वर्षपछि सोमबार साँझ तिहारकै दिन घर पुग्दा गाउँभर रुवाबासी मच्चियो।
धनगढी उपमहानगरपालिकाको शववाहनले कफिनसहित विपिनको शव जब घर आँगनमा ल्यायो, बुबा महानन्द जोशी र आमा पद्मा जोशीलाई सम्हाल्नै गाह्रो भयो। कफिन खोल्नेबित्तिकै बुबा डाको छोडेर विपिनको नाम लिँदै रुन थाले। आमा बेहोस हुँदै थिइन् भने बहिनी पुष्पा पनि टिलपिल आँसुमा ढाकिएकी थिइन्।
दुई वर्षको प्रतीक्षा, तिहारमै आयो शव
विपिनको रिहाइका लागि आमा पद्मा र बहिनी पुष्पा अमेरिका पुगेका थिए। उनीहरूले संयुक्त राष्ट्रसंघका महासचिवदेखि इजरायलका शीर्ष नेताहरूसम्म गुहार लगाएका थिए। तर त्यो सबै प्रयास असफल भयो। असोज ८ मा अमेरिका पुगेका उनीहरू गत बिहीबार मात्रै नेपाल फर्किएका थिए।
सोमबार इजरायलबाट सेनाको स्काई ट्रकमार्फत काठमाडौँ ल्याइएको विपिनको शव धनगढी हुँदै घर पुर्याइएको हो। उनका दाजु किशोरका अनुसार भोलि महाकाली नदी किनारमा अन्त्येष्टि गरिनेछ।
गोली लागेर मृत्यु भएको फरेन्सिक रिपोर्ट
इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन को रिपोर्टअनुसार विपिनको मृत्यु टाउकोमा गोली लागेर भएको हो। तर उनी कहिले मारिएका हुन् भन्ने विवरण रिपोर्टमा उल्लेख छैन।
‘तिहारको उज्यालो निभ्यो’
लक्ष्मी पूजाको दिन विपिनको घर टोलमै अन्धकार छ। बिचपुरी टोलका घरहरूमा बत्ती बालिएका छैनन्। स्थानीय रवि चन्द भन्छन्, “गाउँमै यस्तो पीडा आएकाले कसरी तिहार मनाउने? हिजो झिलिमिली बाल्नेहरूले पनि आज निभाएका छन्।”
टोलका बत्ती निभे पनि सबैको आँखा रसाएका थिए। गाउँमा आज न त लक्ष्मी पूजाको तयारी थियो, न त मिठाईको खुसबु — थियो त केवल शोक र मौनता।
इजरायली राजदूतको भेट
विपिनको शव घरमा पुगेपछि नेपालका लागि इजरायली राजदूत स्मुलिक एराई दूतावासका कर्मचारीसहित बिचपुरी पुगेका थिए। उनले शोकाकुल परिवारसँग भेट गरी समवेदना प्रकट गरेका छन्।
‘लर्न एण्ड अर्न’ बाट सुरु भएको पीडा
सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि इजरायल पुगेका थिए। उनीहरू पुगेको केही हप्तामै हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिन बन्धक बनाइएका थिए।
हमास र इजरायलबिच हालै भएको युद्धविरामपछि विपिनको शव सोमबार नेपाल पठाइएको हो।
बिचपुरी टोलमा अहिले तिहारको उज्यालो होइन, विपिनका यादको आँसु बगेको छ। स्थानीय भन्छन् — “विपिन फर्किए तिहारमा, तर त्यो फर्काइले उज्यालो होइन, अन्धकार ल्यायो।”
प्रतिक्रिया