हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ : इजरायल र हमासबीच दुई वर्षको युद्ध रोक्ने सहमति भएपछि मुक्त हुने २० युद्धबन्दीको सूची सार्वजनिक भएको छ। तर सो नामावलीमा नेपालका कञ्चनपुरका विपिन जोशीको नाम छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सोमबारभित्र छाडिने भनिएका २० जना सबै इजरायली नागरिक रहेको जानकारी दिएका छन्। उनका अनुसार विपिनको अवस्था अहिलेसम्म स्पष्ट छैन।

अमेरिकाको पहलमा भएको सहमतिअनुसार, पहिलो चरणमा हमासको कब्जामा रहेका ५० जना जीवित र मृतकलाई छाड्ने योजना बनाइएको थियो। तर विपिन जोशी, जो अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए, त्यस सूचीमा परेका छैनन्।

विपिनलाई गत अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा हमासले आक्रमण गर्दा बन्धक बनाइएको थियो। सो आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

उनी सन् २०२३ नोभेम्बर १७ मा गाँजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात छ। बुधबार सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि पुरानो रहेको राजदूत पण्डितले स्पष्ट पारेका छन्।

राजदूत पण्डितले भने, “अहिलेसम्म विपिनको जीवनको बारेमा ठोस जानकारी छैन। अवस्था बुझ्ने प्रयास जारी छ, र चाँडै जानकारी आउने आशा छ।” परराष्ट्र मन्त्रालयका कर्मचारीहरू पनि विपिनको अवस्थाबारे पत्ता लगाउने प्रयासमा छन्।

मन्त्रालय स्रोतका अनुसार, “इजरायल सरकारबाट विपिनको अवस्थाबारे जुनसुकै सूचना आउन सक्छ। त्यसका लागि परिवार तयार रहनुपर्ने जानकारी दिइएको छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार