इटहरीमा दुई हप्तादेखि ट्राफिक लाइट बिग्रँदा गोलोचोक अस्तव्यस्त, सवारी व्यवस्था ‘रेड सिग्नल’मा !

के भन्छ इटहरी उपमहानगर ?

मंगलबार, ०४ कार्तिक २०८२

इटहरी : पूर्वको व्यापारिक र यातायातको केन्द्रबिन्दु मानिने इटहरीमा ट्राफिक व्यवस्थापन फेरि चुनौतीपूर्ण बनेको छ।

चोकको चारै दिशामा लगाइएका ट्राफिक लाइट दुई सातादेखि बन्द हुँदा सहरका मुख्य चोकमा दैनिक जाम बढ्नुका साथै सवारी आवगमन अस्तव्यस्त बनेको छ ।

जेनजी आन्दोलनका क्रममा लाइटमा क्षति पुगेपछि मर्मत गरिएको थियो। तर पछिल्लो पटक कन्ट्रोलर र पेडेस्ट्रीयन क्रसिङ प्रणाली नै बिग्रिएपछि नयाँ उपकरण जडान गर्नुपर्ने अवस्था आएको छ।

जिम्मेवारी पाएको यार्सा टेक्नोलोजीका सञ्चालक सिद्धिक अन्सारीका अनुसार, कम्पनीले सम्झौता अवधिभर नियमित मर्मत सम्भार गरे पनि अहिलेको समस्या गम्भीर भएकाले नयाँ सामग्री नै आवश्यक भएको हो।

अन्सारीले भने, “हामीले सम्झौताअनुसार एक वर्षसम्म निरन्तर मर्मत गर्‍यौँ। तर अहिले कन्ट्रोलर र प्रणाली नै नचल्ने भएकाले नयाँ सेटअप आवश्यक छ। उपमहानगरले नयाँ उपकरण खरिद प्रक्रिया अघि बढाएको सुनेका छौँ, तर काम सुरु भएको छैन।”

ट्राफिक लाइट बिग्रिएसँगै इटहरीको गोलोचोकमा ट्राफिक व्यवस्थापन अत्यन्त कठिन बनेको छ।

राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक एवम् प्रबक्ता सन्तोष श्रेष्ठका अनुसार, “चालकहरू ट्राफिक लाइटमा अभ्यस्त भइसकेका कारण अहिले हातले नियन्त्रण गर्दा अझ बढी जाम र दुर्घटनाको जोखिम बढेको छ।”

उनले थपे, “गोलोचोकमा ट्राफिक प्रहरी राखे पनि कहिले रोक्ने र कहिले छिर्न दिने भन्ने निर्णय कठिन हुन्छ। एकातिर रोकेपछि अर्कोतिरको यातायात रोकिँदैन, जसले जाम झन् बढाउँछ।”

स्थानीय व्यवसायी र यात्रुहरू पनि ट्राफिक जाम र जोखिमबाट दैनिक असुविधा भोगिरहेका छन्। स्थानीय युवा युवराज पौडेल भन्छन्, “लाइट नहुँदा इटहरी चोक हुँदै हिँड्दा दुर्घटनामा परिन्छ कि भन्ने डर लाग्छ।

दुई जना ट्राफिक त छन्, तर हात हल्लाउँदा पनि कतिपय गाडी हुइँकाएर जान्छन्। पहिले लाइट हुँदा बानी पर्न गाह्रो थियो, अहिले बानी परिसकेपछि लाइट नचल्दा असजिलो भएको छ।”

स्थानीयहरूले इटहरीजस्तो व्यस्त सहरमा ट्राफिक लाइट नहुँदा सडक अनुशासन कमजोर भएको र दुर्घटनाको जोखिम बढेको बताएका छन्। उनीहरूले तत्काल मर्मत गरेर लाइट सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

हाल अस्थायी रूपमा ट्राफिक प्रहरीले हात सङ्केतमार्फत सवारी सञ्चालन गरिरहेको छ। तर लाइट नचल्ने अवस्था लामो समय रहिरहेमा व्यापार, यातायात र पैदल यात्रु सबै प्रभावित हुने चिन्ता बढेको छ।

कोशी प्रदेश सरकारको लगानीमा २०७९ साल असार ३० गते इटहरी चोकमा प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गरिएको थियो। इटहरी उपमहानगरपालिकाको सक्रियतामा प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपैयाँको सहयोगमा सो ट्राफिक लाइट जडान गरिएको हो।

pradeskhabar.com - 2025-10-21T084023.422

इटहरी उपमहानगरपालिका–६  का वडाध्यक्ष तथा नगरका प्रवक्ता दिवस पोखरेलले बिग्रिएको ट्राफिक लाइट मर्मत नगरको जिम्मेवारी भए पनि पुराना भुक्तानी नदिँदा काम अघि बढाउन नसकिएको बताएका छन्।

उनका अनुसार, “पहिल्यै ट्राफिक प्रहरीमार्फत गरिएका केही मर्मतका कामको भुक्तानी अझै बाँकी छ। जब सबै तिर बक्यौता छ, नयाँ प्राविधिक ल्याएर कसरी काम गरौँ?” पोखरेलले प्रश्न गरे। उनले थपे, “अब नगरप्रमुखकै आदेशमा मात्र काम अघि बढ्न सक्छ, अन्यथा केही भन्न सकिन्न।”

यता, इटहरीका चोकहरूमा बिग्रिएका ट्राफिक लाइट मर्मतमा तीन तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या देखिएको नगरका सूचना अधिकारीको दाबी छ।

सूचना अधिकारी ओसन चौधरीका अनुसार, मर्मतका लागि सम्बन्धित कम्पनीका प्राविधिकहरूलाई समेत बोलाएर काम अघि बढाउने तयारी गरिएको थियो। तर, “१० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएपछि नगरले तत्काल मर्मत कार्य अघि बढाउन नसकेको हो,” चौधरीले बताए।

उनका अनुसार, तिहारअघि नै ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याउने योजना भए पनि त्यसो गर्न नसकिएको कमजोरी नगरले स्वीकार गरेको छ।

“चाडपर्वका समयमा मानिसहरूको भीड बढ्ने भएकाले कुन दिशाबाट सवारीसाधन प्रवेश वा निष्कासन गर्ने भन्नेमा समस्या देखिन्छ,” चौधरीले भने। उनका अनुसार, हाल जेनजी आन्दोलनपछि नगरले खर्चका विषयमा समेत असहजता महसुस गरिरहेको छ।

नगरको यस्तो प्रतिक्रिया आएपछि अब ट्राफिक लाइट मर्मतबारे अन्यौलता थपिएको देखिन्छ। सूचना अधिकारी स्वयंको भनाइबाट पनि स्पष्ट हुन्छ कि ट्राफिक लाइट मर्मतको विषय हाल अनिश्चित अवस्थामै छ।

ट्राफिक लाइट शहरी यातायात व्यवस्थापनको मुख्य आधार हो। यसले चोकमा सवारीसाधनको आवागमन नियन्त्रण गरी दुर्घटना रोकथाममा सहयोग पुर्‍याउँछ। साथै, पैदल यात्रीका लागि सुरक्षित रूपमा सडक पार गर्न सहज वातावरण सिर्जना गर्छ।

इटहरीजस्ता तीव्र गतिमा विस्तार हुँदै आएका सहरहरूमा ट्राफिक लाइट नचल्दा राजमार्गमा जाम,र दुर्घटनाको जोखिम बढ्ने विशेषज्ञहरूको भनाइ छ।

त्यसैले, स्थानीय निकायले प्राविधिक र आर्थिक पक्षमा तीन तहका सरकारबीच शीघ्र सहकार्य गरी ट्राफिक लाइट मर्मत र सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार