इटहरी: इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ज्वाइँले आफ्नी सासूलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ।
भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँ गणेश शाहा गुप्तासँग विवाद भएको थियो ।
मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय गुप्ताले विवादकै क्रममा पानी तान्ने ट्युबेलको ह्याण्डिलले बयलकोटीको टाउकोमा प्रहार गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुवास हमालको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो।
गम्भीर घाइते भएकी बयलकोटीलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङ पठाइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी हमालले जानकारी दिए।
ट्युबेलको ह्याण्डिल प्रहार गरी फरार रहेका आरोपी गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी म्याद थप गर्न जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएको डिएसपी हमालले बताए। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया