सम्पत्ति छानबिन मबाटै सुरु होस् : एमाले नेता शेरधन राई

बुधबार, १२ कार्तिक २०८२

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले सम्पत्ति छानबिनको सुरुवात आफूबाटै गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

२०४६ सालको जनआन्दोलनपछि लाभको पदमा बसेका नेकपा एमालेका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठिरहेका बेला बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन्।

प्रेस चौतारी नेपाल मोरङले मोरङ जिल्ला पार्टी कार्यालयको आगलागीग्रस्त भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले भने, “एमालेका नेताहरू भ्रष्ट छन्, अथाह सम्पत्ति जोडेका छन् भन्ने आरोपहरू आइरहेका छन्। त्यसैले २०४६ सालपछि लाभको पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन होस्। त्यसको सुरुवात मबाटै होस्।”

राईले आफू तीन पटक सांसद, एक पटक केन्द्रीय सरकारको मन्त्री र साढे तीन वर्ष कोशी प्रदेशको मुख्यमन्त्रीको पदमा रहेकाले आफ्नो सम्पत्ति पनि छानबिन गर्न कुनै आपत्ति नभएको बताए।

उनले थपे, “एमालेका जति नेताहरू लाभको पदमा बसेका छन्, सबैको सम्पत्ति छानबिन हुनु पर्छ। म पनि त्यसमा पर्छु। मेरो सम्पत्ति छानबिन होस्, म तयार छु।”

पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेको पनि उपस्थिति थियो। सोही अवसरमा चिरफार डटकम का प्रतिनिधिद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै राईले भने, “म पहिलो पटक सांसदमा उम्मेदवार हुँदा निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र अहिलेको विवरणबीच के फरक छ, त्यसको सत्यता सञ्चारकर्मीहरूले पनि खोजून्।”

राईको भनाइ अनुसार, पारदर्शिता र जवाफदेहिताका लागि सम्पत्ति छानबिन आवश्यक छ र यस्तो अभ्यासले राजनीतिक संस्कृतिलाई सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार