काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेपछि उनको निलम्बन पुनः बहाल भएको छ।
न्यायाधीशद्वय डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट निवेदन खारेज गर्दै यसअघि जारी अन्तरिम आदेश पनि स्वतः निष्क्रिय हुने ठहर गरेको हो। यससँगै प्रमुख प्रशासकीय अधिकृत (सिइओ) सरोज गुरागाईंले गरेको निलम्बन निर्णय अब लागू हुने भएको छ।
यो घटनाक्रमले काठमाडौं महानगरपालिकाको प्रशासनिक विवाद पुनः चर्काउने संकेत देखिएको छ। मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच लामो समयदेखि चल्दै आएको शक्ति संघर्षका बीच अदालतको यो निर्णयले संस्थागत सन्तुलनमा नयाँ प्रश्न उठाएको छ।
गत महिनामा मेयर शाहले अनियमितताको आरोप लगाउँदै गुरागाईंलाई कार्यकक्ष प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको थियो। त्यसपछि उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूको सहयोगमा गुरागाईं कार्यालयमा पुगेका थिए, जस क्रममा नगर प्रहरी र प्रशासकीय पक्षबीच घम्साघम्सी समेत भएको थियो।
त्यसपछि गुरागाईंले “पदीय आचरण विपरीत काम गरेको” भन्दै नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गरेका थिए। आफूलाई गैरकानूनी रूपमा निलम्बन गरिएको भन्दै पाण्डेले अदालतमा रिट दायर गरेका थिए र प्रारम्भिक चरणमा अदालतले अन्तरिम आदेशमार्फत उनलाई पुनः काममा फर्काएको थियो।
प्रतिक्रिया