विराटनगर। गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले तमु ल्होसारले नयाँ वर्षको सुरुवातसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संरक्षण र सामाजिक एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। कोशी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न रहेको उल्लेख गर्दै उनले यस्ता पर्व–संस्कृतिले हाम्रो संस्कृति र गौरवलाई अझ समृद्ध र जीवन्त बनाउने धारणा राखेका छन्।
प्रदेश सरकार स्थापना कालदेखि नै विभिन्न समुदायका पर्व, परम्परा र सांस्कृतिक धरोहरहरूको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विविधतायुक्त समाजमा यस्ता पर्वहरूको माध्यमबाट आपसी सद्भाव र सहकार्य सुदृढ भई समृद्धिको यात्रामा सकारात्मक योगदान पुग्ने विश्वास प्रकट गरेका छन्।
यसै अवसरमा आज परेको कुलुङ समुदायको चाक्चापुर पर्वप्रति पनि उनले शुभकामना व्यक्त गर्दै समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक पहिचान र सामाजिक एकताले प्रदेशको समग्र विकास र सामाजिक सद्भावमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

प्रतिक्रिया