गायक प्रशान्त तामाङको आज अन्त्येष्टि गरिने

मंगलबार, २९ पुस २०८२

दार्जिलिङ : गायक तथा अभिनेता प्रशान्त तामाङको मङ्गलवार अन्त्येष्टि गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार उनको जातीय परम्पराअनुसार अन्त्येष्टि गरिनेछ।

४३ वर्षको अल्पायुमा हृदयाघातका कारण दिल्लीमा निधन भएपछि सोमबार बिहान उनको पार्थिव शरीर वागडोग्रा विमानस्थलबाट शवयात्रासहित जन्मथलो दार्जिलिङ लगिएको थियो। पार्थिव शरीर लिन गोर्खाल्याण्ड टेरोटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) का प्रमुख अनित थापा, युवा नेता अजय एडवर्सलगायत नेता विमानस्थल पुगेका थिए।

बाटोभरि हजारौँ शुभेच्छुकले सडक छेउमा उभिएर ‘गोर्खालीको छोरो’लाई अन्तिम बिदाइ गरेका थिए। शोक, मौनता र आँसुले भरिएको त्यो यात्रा दार्जिलिङ पहाडका लागि अविस्मरणीय क्षण बनेको शवयात्रामा सहभागी फिल्मकर्मी राजेश घतानीले बताए।

अन्तिम श्रद्धाञ्जलीका लागि दार्जिलिङको चौरस्तामा पार्थिव शरीर राखिँदा जनसागर उर्लिएको थियो। उनलाई अन्तिम सम्मान अर्पण गर्न मुम्बई, नेपाल, भुटान, सिक्किम, पूर्वोत्तर भारत, कोलकाता लगायत विभिन्न क्षेत्रबाट शुभेच्छुक दार्जिलिङ पुगेका थिए। प्रशान्तको स्वरले बाँधिएका सम्बन्धहरू भूगोल नाघेर एकै ठाउँमा जुटेजस्तै देखिन्थ्यो।

दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, इन्डियन आइडल–३ का उनका सहप्रतिस्पर्धी च्याङसहित विभिन्न कलाकारहरूले दार्जिलिङ पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ पनि श्रद्धाञ्जली सभामा उपस्थित भई दिवङ्गत कलाकारप्रति सम्मान प्रकट गरेका थिए।

उनको पार्थिव शरीरलाई साँझ तुङसुङस्थित जन्मघर लगिएको छ। प्रशान्तकी पत्नी गीता थापा र चार वर्षीया छोरी आरिया पनि दार्जिलिङमै छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार