रवि र छविको मुद्दामा आज पेसी, आउला त अन्तिम फैसला ?

विहीबार, २७ कार्तिक २०८२

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा यो मुद्दाको सुनुवाइ हुँदैछ ।

यसअघि, गत हप्ता न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले रविको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएपछि थप बहस भएको थियो । उच्च अदालत बुटवल तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरका नुसार, यस मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको मुद्दा पनि सङ्गठित अपराधको मुद्दामा लगाउमा राखेर हेरिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । लामिछानेले भने त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर, अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । यो मुद्दाको आजको सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार