ओली, देउवा र दाहाल घरवारबिहीन : बास बस्नको लागि भाडामा नयाँ घर खोज्नुपर्ने

शनिबार, २८ भदौ २०८२

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनले पूराना दलका शीर्ष नेताहरुलाई घरबाट विस्थापित गरिदिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटमा रहेको निवास आन्दोलनकारीको आगजनीबाट जलेर खरानी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारमा रहेको भाडाको निवास पनि भष्म भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठको निवास खरानी भैसकेको छ । अहिले एक किसिमले भन्दा ठूला दलका नेतृत्वहरु नै घरबारविहीन भएका छन् । ओली र देउवाको निवास आफ्नै हो ।

तर, दाहाल बसेको निवास भाडाको भनिएको छ । कतिपयले दाहाल बसेको निवास उनको आफ्नै हो भन्ने गरेका छन् । दाहालका दुवै छोरीहरु रेनु र गंगाको पनि घर जलेको छ । अहिले तीनै जना नेताहरु घरवारविहीन भएपछि उनीहरुको लागि नयाँ भाडामा घर खोज्नैपर्ने छ । प्रचण्ड र ओलीको गृहजिल्ला क्रमशः चितवन र झापामा रहेका घरसमेत जलाईएको छ ।

दशकौंसम्म देशको शासन–सत्ता आफ्नो नियन्त्रणमा लिएका यी तीन नेता जीवनको उत्तराद्र्धमा मूलधारको राजनीतिबाट नै फ्याँकिने सम्भावना छ । अब सबै दलमा पाका नेताहरुलाई नेतृत्वबाट विस्थापित गरिनुपर्ने आवाज बुलन्द भएको छ । कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वमा निरन्तर हस्तक्षेप गरेको भएपनि असफल भएको भन्दै अब युवा पुस्ताको भावनाबमोजिम चल्ने प्रतिबद्धता जनाएका छन् ।

गगनले त माफीसमेत मागिसकेका छन् । आज एमालेका नेता योगेश भट्टराईले समेत भिडिओ सन्देश जारी गरेका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समेत लगातार आफ्नो धारणा सञ्जालमार्फत दिइरहेका छन् । मुलुक अहिले एक किसिमको संक्रमणमा छ । सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भैसकेको छ ।

संसद् विघटन भएर प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ । निर्वाचनमा अहिलेका दलहरु कसरी सहभागी हुन्छन् र उनीहरुको प्रभाव कस्तो रहन्छ भन्ने कुरा उनीहरुले अहिले लिने निर्णयमा भर पर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार