सिन्धुली : तीनपाटन गाउँपालिका वडा नं. ३ राम्चे कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्या आफ्नै भतिज र छिमेकीले गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरी टंकमायाको हत्या व्यक्तिगत विवाद वा रिसइविका कारण नभई, आरोपी दुवैको लागुऔषध सेवन र त्यसका कारण उत्पन्न आवेगमा भएको स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, टंकमायाको हत्या घाँटी थिचेर गरिएको थियो। मरे कि मरेन भनेर जाँच गर्ने क्रममा मुङ्ग्राले टाउको पछाडि हिर्काएर चोट पुर्याएको पाइयो। अनुसन्धानले देखाएको छ कि हत्या पुस ८ गते राति नै भएको थियो।
हत्यामा संलग्न आरोपीहरूमा मृतकका भतिज, ३० वर्षीया दीपक (शान्ति बहादुर) बुढाथोकी र छिमेकी, २९ वर्षीया चुक्त बहादुर कटुवाल रहेका छन्।
उनीहरूलाई पुस २२ गते पक्राउ गरिएको थियो भने पुस २३ गते सिन्धुली जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गर्न अनुमति दिएको थियो। पक्राउ परेका दुवैजनाले टंकमायाको हत्या गरेको स्वीकार गरेका छन्।
टङ्कमाया हराएको १४ दिनपछि, पुस २१ गते शव फेला परेको थियो। उनको शव घरबाट करिब एक किलोमिटर उत्तरतर्फ, बाँसको झ्याङ्मा बाँसको पात र पत्करले ढाकेर लास सडेको अवस्थामा भेटिएको थियो।
एसपी सुवेदीका अनुसार, हत्यामा संलग्न बुढाथोकी र कटुवालले लागुऔषध सेवनको कारणले उत्पन्न आवेगमा हत्या गरेका हुन्। बुढाथोकी २०७३ सालमा चोरीको आरोपमा पक्राउ परेका र एक वर्ष जेल सजाय भोगिसकेका व्यक्ति रहेको तथ्य पनि अनुसन्धानमा खुलेको छ।
घटनास्थलमा रगत र दिसा भेटेपछि अनुसन्धान मोडियो
टङ्कमाया हराएको सूचना पुस ९ गते राति इलाका प्रहरी कार्यालयमा प्राप्त भएको थियो। मृतकका ज्वाइँ भीम बहादुर थापाले जानकारी दिएपछि प्रहरीले हुलिया जारी गरी खोजतलास सुरु गर्यो। प्रारम्भिक अनुसन्धान र घटनास्थल जाँच गर्दा शङ्कास्पद अवस्था देखिएपछि ठुलो प्रहरी टोली खटाइयो।
टङ्कमाया सुत्ने खाटमा रगत र दिसा भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालयका ट्राकर डग सहितको टोली अनुसन्धानमा खटियो। दुई आरोपीलाई निगरानीमा राखेर अनुसन्धान गरिएको थियो। स्थानीयको सहयोग लिइएर ड्रोन क्यामरा र अन्य प्रविधिको प्रयोग पनि गरिएको थियो। एसपी सुवेदीका अनुसार, यसरी उच्च प्रविधि प्रयोग गरेर अनुसन्धान गर्नु दुर्लभ घटना हो।
शव फेला पार्न प्रहरीले १२ दिन खोजी गरेको थियो। घटनास्थलको अवस्था हेर्दा, हत्यामा संलग्न व्यक्तिले शव लुकाउन धेरै प्रयास गरेको देखिन्छ।
प्रतिक्रिया