सर्लाहीमा चौकीदारको शव फेला, टाउको खोज्दै प्रहरी

आइतबार, २० पुस २०८२

रौतहट : सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु (चौकीदार)को हत्या भएको छ । हत्या गरिएको अवस्थामा शव फेला परे पनि हालसम्म टाउको फेला परेको छैन ।

सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी सरोज राईका अनुसार ४७ वर्षीय वन रक्षक रामइश्वर महतोको शव घटनास्थल नजिकैको पोखरीमा फेला परेको हो ।

शरीर टाउकोबिनाको अवस्थामा भेटिएपछि पोखरीमा जाल हानेर खोजी गर्ने तयारी गरिएको डीएसपी राईले जानकारी दिए । उनका अनुसार जाल हान्ने व्यक्तिको खोजी भइरहेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक आशङ्का छ ।

प्रहरीले महतोको हत्या आशङ्कामा गाउँकै एक शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको भए पनि यसबारे आधिकारिक जानकारी भने दिएको छैन ।

शनिवार बिहान करिब ५ बजे जङ्गलतर्फ रुख काटिएको आवाज सुनेपछि महतो त्यतातिर गएका थिए । दिउँसोसम्म पनि घर नफर्किएको र मोबाइल फोन ‘स्विच अफ’ भएपछि परिवार तथा छरछिमेकीले खोजी गर्दा उनको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको जङ्गलभित्र शव फेला परेको हो ।

घटनाको अनुसन्धानका लागि धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा खोजी कुकुरसमेत झिकाई घटनास्थल वरपर परिचालन गरिएको छ ।

वन चौकीदारको हत्या भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार