झापा दुर्घटना अपडेट: आमा छोराको मृत्यु, ११ जना घाइते

विहीबार, ०१ माघ २०८२

झापा। झापामा भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ।आज (बिहिबार) बिहान कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा भएको पिकअप र बसको ठक्करबाट घाइते भएकी सुस्मा राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि सोही दुर्घटनामा परी डेढ वर्षीया बालक आरुति राजवंशीको मृत्यु भइसकेको थियो। मृतक सुस्मा राजवंशी र आरुति राजवंशी आमा–छोरा भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना५ख २१४९ नम्बरको बस एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी झापा भद्रपुर नगरपालिका–४ बस्ने करिब ४० वर्षीया सुस्मा राजवंशीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि उनकी डेढ वर्षीया छोरा आरुति राजवंशीलाई बी एण्ड सी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनामा अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेन इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा छन्। दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने बस चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि - झापामा पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार