काठमाडौं : नेकपा (एमाले)ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शनसहित विशाल जनसभा सम्पन्न गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो तेस्रो चरणको राष्ट्रिय कार्यक्रम हो, जसअन्तर्गत जिल्ला स्तरमा शक्तिशाली राजनीतिक उपस्थिति जनाइयो।
जिल्लाजिल्लामा आयोजित सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेतृत्वसम्मले सम्बोधन गरे। बाँकेको नेपालगञ्जमा महासचिव शङ्कर पोखरेल, गुल्मीमा उपमहासचिव प्रदीप ज्ञवाली, लमजुङमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रुपन्देहीमा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल, तथा कैलालीको धनगढीमा सचिव लेखराज भट्टले कार्यकर्तालाई सम्बोधन गरेका छन्।
प्रचार विभाग प्रमुख गौतमका अनुसार भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्नको कारबाही, तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत मुद्दा उठाउँदै एमालेले आजको जनप्रदर्शन गरेको हो। मुलुकमा तीव्र रूपमा विकसित भइरहेको राजनीतिक परिस्थिति तथा पार्टीको आगामी रणनीतिबारे कार्यकर्तालाई स्पष्ट जानकारी दिन जनसभा अत्यन्त आवश्यक भएको एमालेको तर्क छ।
यसअघि एमालेले कात्तिक २२ मा देशका सबै वडामा वडा भेला र कात्तिक २५ मा ७५३ वटै पालिकामा भेला सम्पन्न गरिसकेको थियो। आजको जिल्ला–स्तरीय जनसभा सफलसँग सम्पन्न भएपछि एमालेको चरणबद्ध जनसङ्गठन अभियानले देशभर नयाँ राजनीतिक उर्जा र गतिशीलता स्थापित गरेको देखिएको छ।








प्रतिक्रिया