वनभोजको ‘हब’ बन्दै इटहरीको तालतलैया, सिजनमा आउँछन् दैनिक १२ देखि १५ हजार पर्यटक

मंगलबार, १६ मंसिर २०८२

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ को सीमामा अवस्थित तालतलैया अहिले पूर्वाञ्चलको प्रमुख वनभोज तथा मनोरञ्जन गन्तव्यका रूपमा विकसित भइरहेको छ। करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रमा फैलिएको तालतलैया विशेषगरी वनभोजको सिजनमा चहलपहल बढ्ने गरेको छ।

मुख्य वनभोजको मौसम मंसिरदेखि माघसम्म दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले बताए। 

सामान्य दिनमा पनि ५०० भन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेको समितिको तथ्यांक छ। वनभोजका लागि एकैपटक ७० भन्दा बढी समूह मात्र बस्न सक्ने क्षमता रहेकाले धेरैले केही दिनअघि नै बुकिङ गर्नुपर्ने अवस्था रहेको अध्यक्ष रायमाझीले जानकारी दिए।

पर्यटक आकर्षण थप बढाउन तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएका छन्। साथै, घुम्न आउनेलाई सहज बनाउने उद्देश्यले दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएको छ। चिडियाखाना पनि यहाँको अर्को प्रमुख आकर्षण बनेको छ, जहाँ दुम्सी, मयूर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु अवलोकन गर्न पाइन्छ। कुल आगन्तुकमध्ये करिब ४० प्रतिशत भारतका विभिन्न सहर तथा सिरहा–सप्तरी क्षेत्रबाट आउने गरेको समितिले जनाएको छ।

आर्थिक वर्ष २०८१।८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाख बजेटले तालतलैयाभित्र शौचालय, चिडियाखानाका थप संरचना, नर्सरी, वाटरफाउन्टेन तथा बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको अध्यक्ष रायमाझीले बताए। 

विद्यालय बिदाको समयमा अभिभावकले बालबालिकालाई ल्याउने संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।

तालतलैया नजिकै व्यवसाय सञ्चालन गरिरहेकी स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठका अनुसार दैनिक ५०० सम्म पर्यटक आउने भएकाले चटपटे, मःम, चाउमिनलगायत परिकारको बिक्री बढेर स्थानीयको आयस्तरमा सकारात्मक प्रभाव परेको छ। 

मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आएका निरोज थापाले तालतलैया छुट्टी मनाउन उपयुक्त स्थान भएकाले धेरैजसो समय यहीँ आउने गरेका बताए। उनका अनुसार फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, फूलबारी तथा सुविधाहरूले तालतलैया सबै उमेर समूहका लागि उपयुक्त गन्तव्य बनेको छ।

पूर्वाञ्चलको प्रमुख मनोरञ्जन तथा वनभोज केन्द्रका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेको समितिको भनाइ छ। संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश तथा संघीय सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेको समितिले जनाएको छ। 

सञ्चालित आयोजना अन्तर्गत तालतलैयाभित्र पर्यटक विश्रामका लागि चौतारा, बगैँचा तथा विभिन्न कलात्मक मूर्तिहरू निर्माण गरिएको छ, जसले यहाँको आकर्षण थप बढाएको छ।

WhatsApp Image 2025-12-02 at 7.03.48 AM (1)WhatsApp Image 2025-12-02 at 7.03.48 AMWhatsApp Image 2025-12-02 at 7.03.49 AM

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार