निर्वाचन तोकिएकै समयमा हुन्छ : संयोजक दाहाल

शुक्रबार, ०२ माघ २०८२

चितवन : आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै नेकपा संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।” भने । राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरे । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै प्रचण्डले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए । 

फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताउदै “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।” भने। 
 
भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको समेत सो अवसरमा प्रचण्डले वताए ।

सोही अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले ५३ करोड ३२ लाख रुपैयाको लागतमा भवन निर्माण गरिएको जानकारी दिइन । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको  २१ करोड ५८ लाख रुपैया, वाग्मती प्रदेश सरकारको १९ करोड ८९ लाख रुपैया तथा महानगरपालिकाको ४ करोड ५० लाख रुपैया रकम खर्च भएको जनाइयो । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार